Trending
राजनीतिक नेतृत्व इमानदार र जवाफदेही बन्नुपर्छ : सभामुख अर्याल     |     क्रेडिट कार्डको ब्याजदर १० प्रतिशतमा सीमित गर्ने ट्रम्पको प्रस्ताव     |     एभरेष्ट इन्जिनियरिङ कलेजमा सोसाइजको वार्षिक साधारण सभा सम्पन्न     |     नगरप्रमुखको तयारीमा हिक्मत जंग मल्ल, वडा ११ बाट गाउँ अभियान सुरु     |     प्रधानमन्त्री बालेनको भारत भ्रमण: राज्यमन्त्रीबाट हुने भयो स्वागत     |     चितवन राइनोज एनपिएलको क्वालिफायरमा, काठमाण्डु गोर्खाज बाहिरियो     |     मुस्ताङमा पहिलो चौमासिकमा एक लाख १२ हजार पर्यटक     |     नापजाँचको १२ वर्षपछि सर्लाहीका २७५ परिवारले पाए लालपुर्जा     |     उपाध्यक्ष पौडेलद्वारा एमाले नेतृत्वको सरकारका उपलब्धि प्रस्तुत     |     भाटभटेनी संस्थाद्वारा बागमती प्रदेशका पाँच मन्त्री सम्मानित     |    
समाचार

क्रेडिट कार्डको ब्याजदर १० प्रतिशतमा सीमित गर्ने ट्रम्पको प्रस्ताव

७ मंसिर २०८३, आईतवार २१:१०

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रेडिट कार्डको ब्याजदर अधिकतम १० प्रतिशतमा सीमित गर्ने प्रस्ताव कार्यान्वयनका लागि डेमोक्रेटिक सांसदहरूसँग सहकार्य गर्ने बताएका छन् ।

यसअघि रिपब्लिकन सांसदको पर्याप्त समर्थन नपाउँदा अघि बढ्न नसकेको प्रस्ताव संसद्का दुवै सदनमा डेमोक्रेटको नेतृत्व कायम हुने भएपछि अघि बढ्ने उनको अपेक्षा छ ।

शनिबार फक्स न्युजसँग कुरा गर्दै उनले क्रेडिट कार्ड कम्पनीहरूले अत्यधिक नाफा कमाइरहेको बताए । न्युयोर्क फेडरल रिजर्भका अनुसार क्रेडिट कार्डको औसत ब्याजदर २२.२ प्रतिशत छ ।

सिनेटर एलिजाबेथ वारेन, प्रतिनिधि म्याक्सिन वाटर्स र रिपब्लिकन सिनेटर जोस हाउलीलगायतले पनि ब्याजदर सीमित गर्ने प्रस्तावलाई समर्थन गरेका छन् । तर, बैंक तथा कार्ड कम्पनीहरूले ब्याजदरमा सीमा तोकिए कम आय भएका र कमजोर ऋण इतिहास भएका ग्राहकलाई कार्ड उपलब्ध गराउन कठिन हुने तथा पुरस्कार र सुविधा कटौती गर्नुपर्ने तर्क गर्दै आएका छन् ।

अनुसन्धानकर्ताहरूका अनुसार प्रस्ताव कार्यान्वयन भए उपभोक्ताले वार्षिक अर्बौं डलर बचत गर्न सक्नेछन् । यसले क्रेडिट कार्ड उद्योगको नाफामा असर पारे पनि उद्योग घाटामा नजाने उनीहरूको निष्कर्ष छ ।

उपभोक्ता वित्तीय संरक्षण ब्यूरोका अनुसार सन् २०२४ मा अमेरिकाका करिब १९ करोड ५० लाख मानिससँग क्रेडिट कार्ड थियो र उनीहरूले ब्याजबापत एक खर्ब ६० अर्ब अमेरिकी डलर तिरेका थिए ।

न्युयोर्क फेडरल रिजर्भका अनुसार गत वर्षको तेस्रो त्रैमासिकसम्म अमेरिकीहरूको क्रेडिट कार्ड ऋण १२ खर्ब ३० अर्ब अमेरिकी डलर पुगेको थियो, जुन हालसम्मकै उच्च हो ।  (रासस/एपी)

प्रतिक्रिया दिनुहोस्