काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजले विराटनगर किंग्सलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको ८४ रनको लक्ष्य काठमाडौंले ९.४ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो ।
काठमाडौंका डेभिड वार्नरले अविजित ४४ र विलियम बोसिस्टोले अविजित २३ रन बनाए । दुवैले दोस्रो विकेटका लागि अविजित साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको विराटनगर १८.३ ओभरमा ८३ रनमै समेटिएको थियो । उसका रुपेश सिंहले सर्वाधिक २६ र एन्जेलो म्याथ्युजले २२ रन बनाए । बसिर अहमदले १० रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
काठमाडौंका सन्तोष यादवले तीन विकेट लिए । सहान अराचिगेले दुई तथा करण केसी, जहानदाद खान, शाहब आलम र देव शाहले एक–एक विकेट हात पारे ।
पाँच खेल खेलेको विराटनगरको यो तेस्रो हार हो । तीन खेल खेलेको काठमाडौंले दुई जित र एक हारको नतिजा निकालेको छ ।