हङकङ। पब्लिक इन्भेस्टमेन्ट कम्पनीको चौथो वार्षिक साधारणसभा (एजीएम) नोभेम्बर २२ मा रिच गार्डेन ब्यांक्वेटमा सम्पन्न भएको छ।
सभामा कम्पनीको वार्षिक प्रगति, आर्थिक गतिविधि, आगामी योजना, लगानी व्यवस्थापन तथा सामाजिक उत्तरदायित्वका विषयमा व्यापक छलफल भएको थियो।
कार्यक्रमको सञ्चालन कम्पनीका सचिव नेत्रपाल राईले गर्नुभएको थियो भने उपाध्यक्ष किरण राईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
स्वागत मन्तव्यका क्रममा उपाध्यक्ष राईले पब्लिक इन्भेस्टमेन्ट केवल आर्थिक कारोबार र भौतिक संरचनामा सीमित नभई समाजका नागरिकको जीवनस्तर सुधार गर्ने माध्यमसमेत भएको बताउनुभयो।
दीर्घकालीन सामाजिक लाभलाई कम्पनीले आफ्नो उद्देश्य बनाउनुपर्ने उल्लेख गर्दै उहाँले आर्थिक लगानीमार्फत समाजमा ज्ञान, सीप र अवसर सिर्जना गर्न सकिने धारणा राख्नुभयो।
कम्पनीले पारदर्शिता, जवाफदेहिता र समावेशितालाई आत्मसात् गर्दै अघि बढ्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
कार्यक्रम सञ्चालक तथा सचिव नेत्रपाल राईले साधारणसभाको उद्देश्यबारे प्रकाश पार्दै कम्पनीको प्रभावकारिता, सामाजिक उत्तरदायित्व र दिगो विकासका विषयमा सेयरधनीहरूसँग खुला छलफल गर्नुभएको थियो। सभामा प्राप्त सुझावलाई आगामी योजना तथा बजेटमा समेट्ने प्रतिबद्धता जनाउँदै उहाँले कम्पनीको लाभ समाजका सबै वर्गसम्म पुर्याउन शिक्षा, खेलकुद र आर्थिक साक्षरतासम्बन्धी कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी, सोमन राईले कम्पनीको आर्थिक गतिविधि तथा आगामी योजनाबारे विस्तृत प्रस्तुति दिनुभएको थियो। उहाँले आर्थिक पारदर्शिता, लगानी व्यवस्थापन, आय–व्ययको अवस्था, सामाजिक उत्तरदायित्वका कार्यक्रम तथा आगामी वर्षका प्राथमिकताबारे जानकारी गराउनुभयो।
संस्थाको आर्थिक गतिविधि नाफा–नोक्सानमा मात्र सीमित नराखी शिक्षा, खेलकुद तथा आर्थिक साक्षरतासँग जोडेर अघि बढाउनुपर्ने उहाँको भनाइ थियो। आर्थिक स्थायित्वका लागि नियमित आम्दानी, अनुशासित खर्च, पारदर्शी लेखा प्रणाली र नतिजामुखी लगानी आवश्यक रहेको उल्लेख गर्दै उहाँले आर्थिक गतिविधिले समाजमा ज्ञान, सीप र रोजगारीका अवसर सिर्जना गर्नुपर्ने बताउनुभयो। सो अवसरमा कम्पनीको नाफा–नोक्सान तथा लाभांश प्रस्तावका विषयमा समेत जानकारी गराइएको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित नेपाल चेम्बर अफ कमर्स हङकङका अध्यक्ष ससि मदान राईले पब्लिक इन्भेस्टमेन्टसँग व्यापारिक सहकार्यको आवश्यकता औँल्याउनुभयो। सामूहिक लगानीले समाजमा विश्वास र ज्ञानको विकास गर्नुका साथै उद्यमशीलता तथा आर्थिक विकासमा योगदान पुर्याउने उहाँको भनाइ थियो।
हङकङमा रहेका नेपाली व्यवसायी तथा लगानीकर्ताले शिक्षा, खेलकुद र सीप विकासका क्षेत्रमा लगानी गर्न सक्ने सम्भावना औँल्याउँदै उहाँले पर्यटन, खेल उद्योग र डिजिटल वित्तीय सेवामा समेत सहकार्य गर्न सकिने धारणा राख्नुभयो। कम्पनीका उद्देश्य र प्रतिबद्धतालाई व्यवहारमा उतार्न नियमित अनुगमन तथा मूल्याङ्कन आवश्यक रहेको उहाँले जोड दिनुभयो।
हङकङ नेपाली समाजका अगुवा नवीन सुहाङले कम्पनीको सफलता समुदायको सहभागितामा निर्भर रहने बताउनुभयो। स्थानीय आवश्यकताको पहिचान गरी शिक्षा, खेलकुद र आर्थिक साक्षरताका कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै उहाँले सीपमूलक तालिम तथा वित्तीय साक्षरतालाई प्राथमिकता दिन सुझाव दिनुभयो। लगानीको प्रभावकारिताका लागि कार्यक्रमको कार्यान्वयन र उपयोग पारदर्शी हुनुपर्ने उहाँको धारणा थियो।
कम्पनीका अध्यक्ष हेमन्त राईले वार्षिक प्रगति, आगामी योजना, विकास निर्माण तथा नाफा आर्जन गर्ने रणनीतिबारे विस्तृत प्रस्तुति दिनुभएको थियो। उहाँले आगामी दिनमा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै शिक्षा तथा खेलकुद क्षेत्रमा लगानी वृद्धि गर्ने र आर्थिक साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनिक गर्नुभयो।
अध्यक्ष राईले कम्पनीको विकास नाफामा मात्र सीमित नहुने बताउँदै समाजमा ज्ञान, सीप र अवसर सिर्जना गर्नु पनि संस्थाको महत्त्वपूर्ण जिम्मेवारी भएको उल्लेख गर्नुभयो। व्यवसायका लागि नाफा महत्त्वपूर्ण भए पनि त्यसको सामाजिक प्रभाव उत्तिकै महत्त्वपूर्ण रहेको उहाँको भनाइ थियो।
आगामी वर्ष शिक्षा, खेलकुद र आर्थिक विकाससम्बन्धी ज्ञान प्रवाह गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखिने जानकारी दिँदै उहाँले लगानीको पारदर्शिता, नतिजामुखी व्यवस्थापन र सदस्यहरूको सहभागितालाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सभाको अवसरमा खेलकुद क्षेत्रमा योगदान पुर्याउने खेलाडीहरूलाई प्रशंसापत्र वितरण गरिएको थियो। त्यसैगरी, अल्ट्रा धावक सन्तोष तामाङ र फुटबल क्लब एनटी भेटेरेन युङलङ क्लबलाई विशेष सम्मानपत्र प्रदान गरिएको थियो।
खेलकुद क्षेत्रको विकास, युवा खेलाडी उत्पादन तथा सामाजिक एकतामा पुर्याएको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरिएको आयोजकले जनाएको छ। सम्मानित व्यक्तित्व तथा क्लबले आगामी दिनमा पनि खेलकुद विकास, प्रशिक्षण र नयाँ प्रतिभाको पहिचानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कम्पनीको चौथो वार्षिक साधारणसभाले आर्थिक गतिविधिलाई सामाजिक विकाससँग जोड्दै शिक्षा, खेलकुद, आर्थिक साक्षरता र सामुदायिक सहभागितालाई प्राथमिकतामा राखेर अघि बढ्ने सन्देश दिएको छ।