Trending
लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |     फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट एनपिएल खेल्ने     |     वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट     |     फोहरमैला घरमै राख्न काठमाडौँ महानगरको आग्रह     |     दोस्रो नेशनल स्वीमिङ च्याम्पियनसिप २०२५ नेपालगन्जमा सुरु     |     ‘परान’ आजदेखि प्रदर्शनमा     |     सुर्खेतमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ     |     भारत–अमेरिका बीच दश वर्षे रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर     |     सुनको मूल्य बढ्यो     |    
समाचार

खसीबोका बेचेर आत्मनिर्भर बन्दै तङ्ग्रामका महिला

४ कार्तिक २०८१, आईतवार १५:२६

४ कार्तिक,ढोरपाटन। काठेखोला गाउँपालिका–४ तङ्ग्रामका महिला खसीबोका बेचेर आत्मनिर्भर बन्दै गएका छन् । सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारी र वसन्त सहकारीमार्फत यहाँका महिलाले खसीबोका पाल्ने र बच्दै व्यवसाय गर्दै आएका हुन् ।

महिला समूह स्थापना गरी सोही सहकारीमार्फत महिलाले वार्षिक करिब रु चार करोड गाउँ भित्राउँदै आएका छन् । पछिल्लो समय युवा शिक्षा तथा रोजगारीका लागि विदेश जान थालेपछि गाउँ रित्तिन थालेको थियो । यहाँका महिला एकताबद्ध भएर बाख्रापालनमा व्यवसायमा लागेका हुन् ।

महिलाले उत्पादन गर्ने खसीबोका सहकारीले बिक्री गर्ने गरेको सप्तरङ्गी सामाजिक उद्यमीका प्रबन्धक मनु पुनले बताइन् । सप्तरङ्गी सहकारीले वार्षिक रु दुई करोड र वसन्त सहकारीले रु एक करोड ९० लाख बढीको खसीबोका बिक्री गर्दै आएका छन् । महिलालाई उद्यमसँग जोड्नका लागि स्थापना भएको सप्तरङ्गी सहकारीमा तीन सय ८० र वसन्त सहकारीमा पाँच सय ६४ जना महिला आबद्ध छन् ।

सप्तरङ्गी सहकारीले यस वर्षको दसैँमा पाँच सय खसीबोका बिक्री गर्न तयार गरेकामा करिब एक सय बिक्री भएको संस्थाका प्रबन्धक पुनले जानकारी दिइन् । अघिल्लो वर्षको तुलनामा यसवर्ष खसीबोकाको माग कम भएकाले बिक्री गर्न नसकिएको उनले बताइन् ।

“गत वर्षको दसैँका बेला पाँच सय बढी खसीबोका बिक्री भएको थियो, यसवर्ष धेरै बिक्री गर्न सकिएन, सहकारीमार्फत प्रत्येक महिना महिलाले उत्पादन गरेका ६० का दरले वार्षिक एक हजारभन्दा बढी खुसीबोका बिक्री हुन्छ”, पुनले भनिन्, “गाउँका अधिकांश दिदीबहिनीले मेहनत गरेर आत्मनिर्भर बन्दै जानुभएको छ । सहकारीले पनि उहाँहरुलाई सहयोग गर्दै आएको छ । अघिल्लो वर्ष वार्षिक करिब रु दुई करोड चार लाख ४० हजारको खसीबोका बिक्री गरेका थियौँ ।”

पुनले यस मङ्सिर महिनामा गाउँमा पूजा हुने परम्परा रहेकाले मङ्सिरमा धेरै बोकापाठा बिक्री हुने बताइन् । दसैँमा अन्य ठाउँबाट पनि भेडा, च्याङ्ग्रा र खसीबोका बिक्री गर्न बागलुङ ल्याउँदा आफूहरुको उत्पादनले बजार नपाएको उनले उल्लेख गरिन् ।

वसन्त सहकारीकी प्रबन्धक हेमा विश्वकर्माले पछिल्लो समय खसीबोकाले बजार नपाउँदा आम्दानी कम हुँदै गएको बताइन् । अघिल्लो वर्षमा सहकारीमार्फत हरेक महिना एक सयदेखि एक सय ५० वटासम्म खसीबोका बिक्री गर्ने गरेको भन्दै अहिले ५० को हाराहारीमा मात्रै बिक्री भएको उनले जानकारी दिइन् ।

पहिले वार्षिक एक हजार पाँच सय खसीबोका बिक्री गर्दा रु दुई करोड १० लाख गाउँ भित्र्याउने गरेको भन्दै विश्वकर्माले यसवर्ष करिब रु दुई करोड मात्रै आम्दानी भएको उल्लेख गरिन् । यस वर्षको दसैँका लागि आठ सय खसीबोका तयार भए पनि तीन सय मात्र बिक्री भएको उनले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्