Trending
अमेरिका गएका अध्यक्ष नौ महिनासम्म नफर्केपछि वडा कार्यालयमा तालाबन्दी     |     साफ महिला च्याम्पियनसिप : आज नेपाल र श्रीलङ्का भिड्दै     |     एमालेको जग्गादानविरुद्ध परेको रिटको आज सुनुवाइ     |     विपद् व्यवस्थापनमा विश्व बैंकले १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता दिने     |     रवि लामिछानेलाई म्याद थपका लागि आज अदालतमा पेस गरिँदै     |     ‘डिजिटल कनेक्टिभिटी’मा नयाँ युगको शुरूआत भएको छ : प्रधानमन्त्री ओली     |     रेड्मी प्याड प्रो ५जी र रेड्मी प्याड एसई ८.७ ४जी ट्याब्लेट सार्वजनिक     |     पाँच हजार चार सय मिटर उचाइको थोराङमा सरसफाइ     |     सरकारको सय दिन : दुई सय उद्योगमा ३४ अर्ब लगानीको प्रतिबद्धता     |     सरकारको समीक्षा जनताले गर्छन् : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ     |    
समाचार

शृङ्गार व्यवसायबाट मनग्य आम्दानी

५ कार्तिक २०८१, सोमबार ०४:५३

५ कार्तिक,कञ्चनपुर। ब्यूटीसिएन (शृङ्गार) व्यवसायमा संलग्न भीमदत्त नगरपालिका–४ की २९ वर्षीया पुनम जैसीलाई परिवारको खर्च चलाउने पिरलो छैन ।

तालिम लिएर व्यवसाय सञ्चालन गरेकी उनको मासिक कमाई रु ४० हजार जति हुने गरेको छ । मासिक रूपमा आउने कमाइले उनको घर खर्च सहज रूपमा चल्न थालेको छ । घरभाडा, बालबालिकाको विद्यालय खर्च, लुगाफाटो, खाद्यान्न, नुनतेल, तरकारीको जोहो व्यवसायको कमाइले धान्दै आएको उनले बताइन् ।

अन्तरजातीय प्रेम विवाह गरेकी जैसीले सुरुका तीन वर्ष निकै कष्ट सहनुपर्‍यो । “महेन्द्रनगर बजारको सिद्धनाथ मन्दिरमा लाग्ने तीन महिने मेलामा तीन वर्षसम्म बालबालिकाका खेलौना, शृङ्गारका सामान, जुत्ता चप्पललगायत सामग्री बेचेर रु ७०–८० हजार जति कमाइ हुन्थ्यो”, उनले भनिन्, “अठार जनाको संयुक्त परिवारमा बस्नुपर्दा त्यो कमाइले खर्च पुग्दैनथ्यो ।”

तीन महिना मन्दिर छेउ बसेर सामान बिक्री गर्ने जैसीले बाँकी समय मजदुरी गरेर जीविका चलाउँदै आएकी थिइन् । “ ब्यूटिसीएन तालिममा सहभागी हुने मौका पाए”, उनले भनिन्, “निकै मेहनत गरेर एक लेभलसम्मको परीक्षा उत्तीर्ण गरेँ, आफ्नै व्यवसाय सञ्चालन गर्ने धोको थियो ।”

सीप सिकेर निपुण भए पनि व्यवसाय सञ्चालन गर्न आवश्यक पुँजीको अभाव थियो । मन्दिरमा सामान बिक्री गरेको र मजदुरी गरेर खाइनखाइ राखेको रु ३० हजार रकम उनीसँग थियो । “घर नजिकैको सहकारीमा गएर व्यवसाय गर्ने इच्छा जाहेर गरेँ, पुँजी अभाव रहेका कुरा सुनाएँ”, उनले भनिन्, “सहकारीबाट रु ४० हजार कर्जाका रूपमा रकम पाएँ, आफूसँग रहेको र सहकारीको गरी रु ७० हजार रकमबाट व्यवसाय सुरु गरेँ ।”

ग्राहकको मागअनुसार सेवा दिन थालेपछि व्यवसाय अगाडि बढ्दै आएको उनले उल्लेख गरिन् । हाल पसलमा रु छ लाख बढीको ब्यूटिसीएन र शृङ्गारसम्बन्धीको सामान रहेको छ । पसलबाट कमाएको रु १४ लाख र श्रीमान्ले कमाएको रु १२ लाख गरी रु २६ लाखमा जैसीले महेन्द्रनगर बजार छेउमा एक कट्ठा जग्गा घडेरी जोड्न भ्याएकी छन् ।

भाडाका घरमा बस्दै आएकी जैसीले यसै वर्ष आफ्नै घर निर्माण गर्ने सोच अघि सारेकी छन् । ग्राहकको मन जित्न सके व्यवसायलाई अगाडि बढाउन सकिने उदाहरण उनले पेस गरेकी छन् । जैसीका दुई छोरी र एक छोरा छन् । छोराछोरीलाई उनले निजी अङ्ग्रेजी माध्यमको विद्यालयमा पढाउँदै आएकी छन् । स्वरोजगार भएपछि जीवन सहज रूपमा चल्न थालेकामा उनी सन्तुष्टि व्यक्त गर्छिन् ।

प्रतिक्रिया दिनुहोस्