Trending
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन     |     औसत मिति टर्यो : अझै मनसुन भित्रिएन     |     न्यूजिल्यान्ड र इरानबीचको खेल बराबरीमा टुङ्गियो     |     फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे     |     जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी     |     केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना     |     प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ !     |     लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने     |     बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध     |     नेकपा जनसांस्कृतिक महासंघको संय‍ोजकमा भीम कुमाखी     |    
कला र मनोरन्जन

चलचित्र ‘सोल्टिनी’को छायाङ्कन पुरा

३० माघ २०८१, बुधबार ११:०२

काठमाडौं। प्रकाश सपुत र परीक्षा लिम्बु स्टारर नेपाली चलचित्र ‘सोल्टिनी’को छायाङ्कन पुरा भएको छ । इलाम बजार, बिब्ल्याटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका दृश्यहरू कैद गर्दै ३६ दिनमा चलचित्रको छायाङ्कन सकिएको हो ।

भोजपुरको अन्नपूर्ण गाउँमा भएको यसको ‘इन्ड क्ल्याप’ दृश्यमा कलाकारहरू परीक्षा लिम्बु, सब्बु गुरुङ, कविता आले, सुजाता गुरुङ र प्रेम सुब्बाले अभिनय गरे ।

निर्देशक अर्जुन सुवेदीले चलचित्र ‘सोल्टिनी’को छायाङ्कन समयमै सकिनुको मुख्य कारण पूर्व तयारी रहेको बताए । “सशक्त स्क्रिप्ट, अनुभवी कलाकार र कुशल प्राविधिक टिमकै कारण हामीले निर्धारित समयभित्रै छायाङ्कन सम्पन्न गर्न सफल भयौँ,” सुवेदी भन्छन्, “चलचित्रको प्रत्येक दृश्यलाई सुन्दर बनाउन हामीले छायाङ्कन स्थलको राम्रो अवलोकन गरेका थियौँ । इलाम बजारदेखि भोजपुरसम्मका विविध स्थानहरूको चयनले कथालाई जीवन्त बनाउन मद्दत गर्‍यो ।”

अब, ‘सोल्टिनी’को सम्पादन प्रक्रियामा टिम प्रवेश गर्नेछ । निर्देशक सुवेदीले दर्शकलाई फरक स्वादको कथासँग जोड्न चलचित्रले कुनै कसर बाँकी नराख्ने बताए । यस चलचित्रले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज उठाउनेछ । साथै, दुई प्रमुख पात्रबीचको प्रेम कथा पनि यसको मुख्य आकर्षण रहनेछ ।

यस चलचित्रमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरूको बाक्लो उपस्थिति छ, जसमा प्रकाश सपूत, विल्सन विक्रम राई, परीक्षा लिम्बु, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडा रहेका छन् । सपूतले ‘भीमसेन पोखरेल’ र लिम्बुले ‘दिलासा राई’को मुख्य भूमिका निभाउने चलचित्रको घोषणामा नै बताइएको थियो । यो जोडी पहिलो पटक एकसाथ पर्दामा देखिन लागेको हो ।

चलचित्रको सङ्गीत प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले दिएका छन् भने छायाङ्कन सुशन प्रजापतिले गरेका छन्‌ । प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बनेको यो चलचित्रका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन् । ट्राइडेन्ट कन्सेप्टले पब्लिसिटी डिजाइन गरेको छ भने आरआर फिल्मस् प्रा।लि।ले नेपाल वितरण गर्नेछ । डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ ।

चलचित्रलाई २०८२ सालको असोज ३ गते संविधान दिवसको दिन रिलिज गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्