Trending
किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम     |     देउवा परिवारको छायाँमा हङकङ दूतावास? विन्देश्वर लेखक फिर्तापछि रमेश लेखक र भानु–योगेन्द्र कनेक्सनमाथि प्रश्न     |     रक्की माउन्टेनले कोलोराडोमा मनायो नेपाली नयाँ वर्ष     |     चलचित्रमा छुटेको ‘काली–कर्णाली’     |     बाल साहित्य महोत्सव (दोस्रो संस्करण)मा बाल विकासको सफलता     |     प्रकाश खड्काको पहलमा कर्णाली हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टरका लागि जुम्लामा जग्गा सुनिश्चित     |     अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |    
कला र मनोरन्जन

‘बलिदान’को छायाङ्कन सम्पन्न, निर्देशक सेन भन्छन्, “रातदिन रगत-पसिना बगाएर मेहनत गर्‍यौँ”

३ फाल्गुन २०८१, शनिबार ०९:१४

काठमाडौं। घोषणादेखि नै चर्चा र प्रतीक्षामा रहेको नेपाली चलचित्र ‘बलिदान’को छायाङ्कन चार महिनामा पूरा भएको छ । निर्देशक सन्तोष सेनले कठिन परिस्थितिसँग जुध्दै उत्कृष्ट चलचित्र निर्माणको लक्ष्य पूरा गर्ने क्रमको छायाङ्कन चरण पार गरेको जानकारी दिएका छन् ।

शुक्रवार मोरङको हसिना सिमसारस्थित बुढासुब्बा मैदानमा लिइएको अन्तिम दृश्यमा अभिनेता समीर भट्ट र अभिनेत्री ऋचा शर्माको अभिनय रहेको थियो ।

निर्देशक सेनका अनुसार, ‘बलिदान’ लाई ‘महान् चलचित्र’ बनाउने यात्रामा कुनै सम्झौता गरिएको छैन । सेनले भने, “कथाको सिर्जना होस् वा कलाकार, प्राविधिक, र प्रविधिको छनोट – हामीले सोचेभन्दा राम्रो गर्न सफल भयौँ । शारीरिक, मानसिक, र भावनात्मक रूपमा धेरै सङ्घर्ष गर्‍यौँ, तर चलचित्रलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी राखेनौँ ।”

निर्माण टोलीको मेहनतबारे बोल्दै उनले थपे, “चार महिनासम्म रातदिन रगत-पसिना बगाएर मेहनत गर्‍यौँ । यस चलचित्रको लागि सम्पूर्ण टिमले जुन बलिदानी दिएको छ, त्यसलाई शब्दमा मात्र धन्यवाद दिएर पुग्दैन । म विश्वस्त छु, उनीहरूको काम ‘बलिदान’ मार्फत अमर रहनेछ ।”

यो चलचित्र देशका लागि केही गर्ने जोस र हुटहुटीले बनेको सेनको भनाइ छ । उनले दर्शकको सदाशयताले थप प्रेरणा दिएको बताउँदै भने, “आगामी दिनमा पनि दर्शकको साथ पाइरहने विश्वास छ । कथाको आवश्यक बलिदानी दिएर अन्तिम दृश्य खिच्यौँ र छायाङ्कनको चरणलाई बिट मार्‍यौँ ।”

अब चलचित्रको सम्पादन कार्य अब छिट्टै सुरु हुने र पोस्ट प्रोडक्सनका क्रममा पनि कुनै सम्झौता नगर्ने निर्देशक सेनले बताए । चलचित्रको प्रदर्शन मितिबारे भने निर्देशकले आफ्नो पुरानै कथन दोहोर्‍याउँदै भने, “अब छिट्टै टिजर रिलिज हुनेछ, जसमा रिलिज मिति घोषणा गरिनेछ ।” यस चलचित्रको रिलिज मितिलाई लिएर दर्शकमा उच्च अपेक्षा रहेको छ ।

नेपाली चलचित्र उद्योगमा ऐतिहासिक र देशभक्तिपूर्ण कथावस्तुका कारण ‘बलिदान’ प्रति दर्शकको विशेष चासो रहँदै आएको छ । फिल्ममा उत्कृष्ट कलाकारहरूको सहभागिता, प्रविधिको उच्चतम प्रयोग, र कथाको गहिरो प्रभावशीलताले यसलाई बहुप्रतिक्षित चलचित्र बनाएको छ । सम्भवतः निरन्तर रूपमा सबैभन्दा धेरै समय छायाङ्कन भएको र सबैभन्दा महँगो लगानीको चलचित्रको रूपमा पनि ‘बलिदान’लाई हेर्न सकिन्छ ।

यस चलचित्रमा पहिलो चलचित्र ‘१२ गाउँ’बाट व्यापक चर्चा पाएका अभिनेता समीर भट्टको प्रमुख भूमिका र साथमा सौगात मल्ल, अर्पण थापा, दिव्य देव, ऋचा शर्मा लगायतका दिग्गज कलाकारहरूको अभिनय रहनुले यो चलचित्रलाई थप विशेष बनाएको छ ।

‘बलिदान’ को कथा नेपालको सार्वभौम भूमिमा भइरहेको शोषण, अन्याय र समाजका तथाकथित नाइकेहरूको विरुद्धको सङ्घर्षमा आधारित रहेको बताइएको छ । चलचित्रमा दक्षिण भारतका चर्चित एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा करिब ३० जनाको टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै एक्सन दृश्य खिचेका थिए । यस चलचित्रको क्लाइमेक्स दृश्यहरू छायाङ्कनका लागि बुढासुब्बा मैदानमा ४२ फिट अग्लो कालीमाताको भव्य मूर्ति निर्माण गरिएको थियो, जसको व्यापक चर्चा भएको थियो ।

यस चलचित्रको लागि साङ्गीतिक संस्था आर्टमान्डु टिमका सदस्यहरूले सङ्गीतका विभिन्न पक्षहरूमा कार्य गरेका छन् । गायक सुजन चापागाईँ, गीतकार हर्क साउद र निर्देशक नवीन चौहानको समूहले ‘बलिदान’का गीत, सङ्गीत तथा ब्याकग्राउण्ड म्युजिकमा काम गरिरहेको छ । ‘आसुसेन फिल्म्स प्रा.ली.’ को प्रस्तुति रहेको यस चलचित्रमा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी सह-निर्माताको भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्