काठमाडौं। आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सुरक्षा निकायका तल्लो दर्जाका सिपाहीहरुलाई घरेलु कामदारको रुपमा राखेर अमानविय व्यवहार भइरहेको बारेमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन् ।
पहुचको आधारमा उच्च ओहोदाका प्रहरी र नेताहरुले नै ति प्रहरी जवानहरुलाई घरेलु कामदारको रुपमा प्रयोग गर्दै अमानविय व्यवहार गरिरहेको उनले बताए ।
प्रतिनिधिसभाको आज (सोमबार) बसेको बैठकको विशेष समयमा बोल्दै आजपा अध्यक्ष साहले देश र जनताको सेवा गर्ने उदेश्यले प्रहरीमा प्रवेश गरेका प्रहरी जवानको दुरुपयोग गर्ने उच्च ओहोदाका प्रहरी र नेताहरुको घरको सिसी टिभी क्यामेरा समेत हेर्दा भईरहेको दुरुपयोग सार्वजनिक हुने बताए ।
‘सुरक्षा निकायका तल्लो दर्जाका सिपाहीहरुलाई घरेलु कामदारमा लगाईएको छ । बन्दुक बोकेर देश र जनताको सुरक्षा गर्छु, सेवा गर्छु भनेर सुरक्षा निकायमा जागिर गर्न आएका, प्रवेश पाएका सिपाहीहरुलाई नेताहरुको घरमा चाकडी गर्न लगाउनु प्रहरीकै उच्च ओहोदाका व्यक्तिको घरमा निजि कामदार बनाउनु कतिको उचित छ भन्ने म जान्न चाहन्छु ?,’ दुई तिहाईको सरकार र गृहमन्त्रीसंग प्रश्न गर्दै आजपा अध्यक्ष साहले भने, ‘तपाईहरुको कमाण्डमा सुरक्षा निकाय छ की छैन ? तपाईहरुको सरकार कानून अनुसार चल्छ की चल्दैन ? यदी कानून अनुसार चल्छ भने यस्तो अमानविय व्यवहार कसरी भईरहेको छ ?’
कानून विपरित डिआईजी भन्दा माथिका सबै अफिसरको घरमा चालकदेखी घरको काम गर्नेसम्म प्रहरी जवान हुने बारेमा उनले गृहमन्त्री रमेश लेखकसंग जवाफ माग गरेका छन् । यस्तै शक्तिशाली केही नेताहरुको घरमा समेत चालकदेखी घरायसी काम गर्नेहरु प्रहरी जवान नै हुने गरेको बारेमा उनले जवाफ माग गरेका छन् ।
यस्तै कतिपय सांसदका सवारी चालक समेत प्रहरी जवान नै हुने गरेको बताउदै उनले यस्ता बिषयमा संसदीय छानबिन समिति गठन गरेर कानून विपरित घरेलु कामदारको रुपमा प्रहरी जवानलाई काममा लगाउनेलाई कारवाही गर्नुपर्ने माग साहले गरेका छन् ।
‘यसरी प्रहरी जवानलाई मौजुदा कानून अनुसार घरेलु कामदारको रुपमा काममा लगाउँन मिल्छ की मिल्दैन् ? मिल्दैन भने त्यसरी कानून नै बनाएर गर्नुस् । तर एउटा बन्दु बोकेर म देशको सेवा गर्छु भन्ने जवानको मानमर्दन गर्न कसरी उचित भयो ? प्रहरीले सरकारी, कार्यालयको गाडी चलाउनुपर्ने भए पनि उ आज निजि गाडी चलाउँन बाध्य भएको छ ।
सरकारी कार्यालयमा काम गर्नुपर्ने, बन्दुक बोकेर सुरक्षा निकायमा काम गर्नुपर्ने प्रहरी जवान कसैको निजि काम गर्न बाध्य भएको छ,’ आजपा अध्यक्ष साहले भने, ‘सुरक्षा निकायमा योगदान गर्नुपर्ने ति प्रहरी जवान घरको गमलामा पानी हाल्ने, किचनेमा काम गर्नुपरेको छ, आन्तरिक कपडा धुनुपरेको छ । यसरी अमानविय काममा लगाउँदा सरकार मौन हुने, कुनै पनि नियका यसमा संवेदनशील नहुने ।
यस बारेमा कम्तिमा यो संसदले मानवता देखाओस्, म सम्मानिय सभामुखज्यूसंग विशेष आग्रह गर्न चाहन्छु । कानूनी शासन, सुशासनका लागि जिम्मेवार बनाऔँ र एउटा संसदीय छानबिन समिति बनाएर छानबिन गरौं । उच्च ओहोदाका प्रहरीको घरको सिसी टिभी क्यामेर चेक गरौं ।’
कम्तिमा अहिले भैरहेको अन्यायको कामलाई रोक्नको लागि योगदान गर्नुपर्ने उनले बताए । यस्तै प्रहरीको तल्लो दर्जामा काम गर्नेहरुमाथि उनीहरुको मान, सम्मान र स्वाभिमानसँग खेलबाड गर्ने कार्य कुनै पनि हालतमा स्वीकार्य नभएको उनले बताए ।
ति जवानलाई घरमा घरेलु कामदारको रुपमा रुवाई रुवाई काम गराउँने, मानविय व्यवहार पनि नगर्ने यस्ता कार्य क्षमा गर्न नसकिने बताउदै यसबारेमा छानबिन गर्नैपर्ने बताए । यस्ता कार्यलाई यतिकै छोड्न नसकिने बताउदै उनले अमानविय अपराध गर्नेलाई कारवाहीको दायरामा ल्याउनैपर्ने बताए ।
यस्तै आजपा अध्यक्ष साहले सशस्त्र प्रहरीको सामान राखिएको बलम्बुको आगलागी घट्नाको छानबिन कहाँ पुग्यो भनेर पनि गृहमन्त्री लेखकसंग जवाफ माग गरेका छन् । उनले त्यस घट्नामा पनि ठूलो भ्रष्टाचार र घोटाला भएको कुरा आएको भन्दै त्यसमा पनि गम्भीर छानबिनको माग गरेका छन् ।
‘आजभन्दा झण्डै एक बर्ष अगाडी चैत २६ गते सशस्त्र प्रहरीको बलम्बु स्थित गोदाममा भएको आगलगी घटनाको छानबिन कहाँ पुग्यो ? कयौं तथ्यहरु बाहिर आईरहेका छन् । त्यो घटना सुनियोजित थियो र ठुलो भ्रष्टाचार लक्षित थियो भन्ने तथ्य बाहिर आईरहेको छ,’ आजपा अध्यक्ष साहले भने ।