Trending
लक्ष्मीपूजाको उज्यालोमा विद्युत् व्यवस्थापनको सफल परीक्षा     |     कल्पतरु प्रज्ञा प्रतिष्ठानद्वारा देवकोटा जयन्ती मनाइयो, विभिन्न स्रष्टा सम्मानित     |     यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई     |     तारा अधिकारी निर्देशित चलचित्र ‘तिलस्मी’को फस्र्ट लुक सार्वजनिक     |     चलचित्र ‘तिरिमिरी झ्याइँ’को पोस्टर सार्वजनिक     |     विराटनगरलाई ९ विकेटले हराउँदै काठमाडौंको दोस्रो जित     |     रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको शिष्टाचार भेट     |     ऊर्जा मन्त्री श्रेष्ठद्वारा मन्त्रालयका विभिन्न महाशाखा तथा शाखाको आकस्मिक अनुगमन     |     मन्त्रालयद्वारा नापी विभागले गरेको ८५७ जना कर्मचारीको सरुवा रद्द, नयाँ मापदण्डअनुसार पुनः सरुवा गरिने     |     दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र बन्दैछः मन्त्री पोखरेल     |    
समाचार

लक्ष्मीपूजाको उज्यालोमा विद्युत् व्यवस्थापनको सफल परीक्षा

२३ कार्तिक २०८३, आईतवार २१:०२

काठमाडौँ। प्राकृतिक विपद्का कारण विद्युत् उत्पादन तथा प्रसारण प्रणालीमा गम्भीर क्षति पुगे पनि नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन विद्युतको उच्चतम माग सफलतापूर्वक व्यवस्थापन गरेको छ ।

आन्तरिक विद्युत् माग पूरा गर्दै भारततर्फ विद्युत् निर्यातसमेत भएको छ। आइतबार साँझ ६ बजेर १५ मिनेटमा राष्ट्रिय विद्युत् प्रणालीको उच्चतम माग १ हजार ८१३ मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

उक्त समयमा कुल प्रणालीको पिक भार २ हजार ४००.३० मेगावाट रहेकामा ५८७.३० मेगावाट विद्युत् भारत निर्यात गरिएको थियो । प्रणालीमा विद्युत् आपूर्ति अवरोध शून्य मेगावाट रहेको थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले प्राकृतिक विपद्का कारण प्रणालीमा ठुलो क्षति पुगेको अवस्थामा पनि विद्युतको उच्चतम माग व्यवस्थापन गर्न सफल भएकोमा प्राधिकरणका कर्मचारी, व्यवस्थापन र आम उपभोक्तालाई धन्यवाद दिए ।

मन्त्री श्रेष्ठ आइतबार साँझ ऊर्जा सचिव, प्राधिकरण सञ्चालक समितिका सदस्य तथा प्राधिकरणका उच्च व्यवस्थापनकसहित प्राधिकरणको भार प्रेषण केन्द्रमा पुगेर विद्युतको माग र आपूर्तिको अवस्थाबारे जानकारी लिएका थिए। उनले विगत तीन वर्षको लक्ष्मीपूजाको दिनको विद्युत् माग र आपूर्तिको तथ्याङ्क विश्लेषण गर्दै यस वर्ष चुनौतीपूर्ण परिस्थितिमा समेत माग व्यवस्थापन हुनु सकारात्मक उपलब्धि भएको बताए।

उनले विद्युतको सुरक्षित र मितव्ययी प्रयोग गर्दै उज्यालोको पर्व मनाएकोमा उपभोक्तालाई धन्यवाद दिँदै नियमित र भरपर्दो विद्युत् आपूर्तिका लागि अहोरात्र खटिने कर्मचारीको योगदानको प्रशंसा गरे।

आगामी दिनमा पनि विद्युत् आपूर्तिलाई सुरक्षित, भरपर्दो र नियमित बनाउन उत्तिकै प्रतिबद्धताका साथ काम गर्न उहाँले सम्बन्धित निकायलाई आग्रह गरे।

प्राधिकरणका अनुसार यस वर्षको लक्ष्मीपूजामा स्वतन्त्र ऊर्जा उत्पादकबाट १ हजार ५३६.५० मेगावाट, प्राधिकरणका सहायक कम्पनीबाट ४९९.२० मेगावाट, प्राधिकरणका नदी प्रवाही तथा अर्धजलाशययुक्त आयोजनाबाट ३४२.३० मेगावाट र जलाशययुक्त आयोजनाबाट २२.३० मेगावाट विद्युत् प्रणालीमा उपलब्ध भएको थियो ।

प्राकृतिक विपद्का कारण रसुवा क्षेत्रमा करिब ४५० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिर रहेको अवस्थामा पनि माग व्यवस्थापन हुनु प्राधिकरणका लागि थप चुनौतीपूर्ण थियो ।

प्राधिकरणको तथ्याङ्क अनुसार २०८२ सालको लक्ष्मीपूजामा विद्युतको उच्चतम माग १ हजार ७४५ मेगावाट पुगेको थियो भने २०८१ सालमा १ हजार ६०२ मेगावाट थियो। यस वर्षको उच्चतम माग गत वर्षको तुलनामा ६८ मेगावाट बढी हो । त्यस्तै काठमाडौँ उपत्यकाको विद्युत् माग ४८९ मेगावाट पुगेको छ ।

गत वर्ष ४०२ मेगावाट रहेको थियो ।प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार विद्युत् प्रणालीलाई अविच्छिन्न राख्न देशभरका सम्बन्धित निकाय तथा प्राविधिक टोलीलाई तयारी अवस्थामा राखिएको थियो ।

सम्भावित प्राविधिक समस्या तत्काल समाधान गर्न ट्रान्सफर्मरसहितका आवश्यक उपकरण र प्राविधिक जनशक्ति परिचालन गरिएको थियो। कुनै स्थानमा समस्या देखिए १५ मिनेटभित्र समाधान गर्ने गरी टोलीलाई तयारी अवस्थामा राखिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्