Trending
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै     |     मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता     |     मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु     |     शिक्षा र स्वास्थ्यमा कर नलगाउने प्रधानमन्त्रीको घोषणा, अर्थमन्त्रीसँग परामर्शपछि निर्णय     |     स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि     |     लोकदोहोरी अवार्ड : उत्कृष्ट पाँच मनोनयन सार्वजनिक     |     धादिङमा आज राति १० बजेदेखि सबै सवारी साधन चलाउन रोक     |     अविरल वर्षाका कारण काठमाडौंका विभिन्न स्थान जलमग्न     |     बागमती नदीमा घट्न थाल्यो पानीको बहाव     |     भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |    
समाचार

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

१ श्रावण २०८२, बुधबार १६:१९

सुर्खेत। विभिन्न विवाद, अवरोध र कानुनी प्रक्रिया बीच अल्झिएको कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन विस्तार आयोजनाले पुनः गति लिएको छ। बाँकेको कोहलपुरदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतसम्म लाइन विस्तारको बाटो अब खुलेको छ।

बाँकेको बैजनाथ गाउँपालिका वडा नं. १ गाभर र वडा नं. ४ बानियाँभारमा स्थानीय अवरोधका कारण रोकिएको लाइन विस्तार कार्य उच्च अदालतको आदेशपछि पुनः सुरु भएको हो।

मुख्यमन्त्री यामलाल कँडेलले न्यायिक निर्णयले कामलाई सहज बनाएको बताउँदै भने, “अदालतको आदेशसँगै अब आयोजनाको बाँकी काम तीव्र गतिमा सम्पन्न हुनेछ।”

आयोजना प्रमुख रवि चौधरीका अनुसार, बाँकी काम ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण अघि बढाइएको छ। विवादित क्षेत्रमध्ये वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुनामा पनि अब विवाद समाधान भएको छ।

करिब ७० करोड रुपैयाँ लागतमा निर्माणाधीन उक्त आयोजनाको हालसम्म ९५ प्रतिशत भौतिक प्रगति भइसकेको छ। आयोजनाअन्तर्गत हालसम्म ४० किलोमिटर तार तानिएको छ भने अब १२ किलोमिटर मात्र बाँकी रहेको छ।

फाउन्डेसन निर्माणको काम अन्तिम चरणमा छ। १ सय ५६ वटा फाउन्डेसन तयार भइसकेका छन् भने अब थप ६ वटा मात्र बनाउनु बाँकी रहेको आयोजना प्रमुख चौधरीले जानकारी दिए।

आयोजनाको मार्गमा पर्ने रूख हटाउने क्रममा आलोचना पनि हुँदै आएको छ। हालसम्म ५ हजार रूख काटिएको छ भने थप ५ हजार ५ सय काट्ने तयारीमा छ। यद्यपि, आयोजना कार्यालयले वातावरणीय मापदण्ड पालना गर्दै रूख कटान भइरहेको बताएको छ।

यो लाइन विस्तारसँगै कर्णाली प्रदेशको विद्युत आपूर्ति थप सुदृढ हुने अनुमान गरिएको छ। आयोजनाको सफलताले भविष्यमा औद्योगिक, कृषि तथा आवासीय क्षेत्रमा विद्युत वितरण सहज हुने अपेक्षा गरिएको छ।

ऊर्जा पूर्वाधार विस्तारको यो पहलले कर्णालीको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने सरोकारवालाहरूको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्