Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

सुर्खेतमा हतियारसहित २ युवा पक्राउ

३ श्रावण २०८२, शुक्रबार २१:३७

सुर्खेत । सुर्खेत प्रहरीले हतियार, लागूऔषध र प्रतिबन्धित वन्यजन्तुको सिङसहित दुई युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–८ निवासी २३ वर्षीय विधान शाही र २२ वर्षीय आदित्य घिमिरे रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले शुक्रबार पत्रकार सम्मेलनमार्फत उनीहरूलाई सार्वजनिक गरेको हो। प्रहरी उपरीक्षक सुधीरराज शाहीका अनुसार बिहीबार राति ९ बजेतिर वीरेन्द्रनगर–८ को कृष्ण मन्दिर नजिक रहेको एक घरमा विशेष सुराकीका आधारमा प्रहरीले छापा मारी उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट एक थान सेमी–अटोमेटिक चाइनिज पेस्तोल, त्यसमा प्रयोग हुने दुई थान म्यागजिन, १२ राउन्ड गोली, चार थान खुकुरी, दुई थान चक्कु, एक थान बन्चरो र स्टिल स्टिक फेला परेको छ।

त्यस्तै, प्रहरीको बयान अनुसार लागूऔषधका रूपमा १,४२६ थान ट्रामाडोल र नाइट्राजेपाम ट्याब्लेट पनि बरामद गरिएको छ। साथै प्रतिबन्धित वन्यजन्तु जरायोको एक थान सिङसमेत बरामद भएको छ।

एक स्थानीय बासिन्दाले प्रहरी कन्ट्रोल रुममा टोलमा शंकास्पद गतिविधि भइरहेको र युवाहरूले हतियार र लागूऔषधको कारोबार गरिरहेको सूचना दिएपछि प्रहरी टोली खटिएको थियो। सोही आधारमा सञ्चालन गरिएको ‘अपरेसन’ सफल भएको हो।

प्रारम्भिक अनुसन्धान अनुसार, उनीहरूले ती हतियारहरू व्यक्तिगत सुरक्षा र अन्य समूहसँगको झगडाका लागि राख्ने गरेका थिए। थप अनुसन्धानमा विधान शाही विगतमा ज्यान मार्ने उद्योगअन्तर्गत फरार अभियुक्त रहेको पत्ता लागेको छ। उनीमाथि २०७८ साल भदौमा नीरज श्रेष्ठमाथि खुकुरी प्रहार गरेको अभियोगमा मुद्दा दर्ता भइसकेको थियो, तर उनी फरार थिए। उक्त घटनामा संलग्न अन्य तीन जना भने पहिले नै पक्राउ परिसकेका थिए।

प्रहरीले पक्राउ परेका दुवैजनामाथि लागूऔषध कारोबार, अवैध हतियार राखेको र वन्यजन्तु अपराधसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरेको जनाएको छ। उनीहरूले नेपालगञ्ज सीमावर्ती क्षेत्रबाट लागूऔषध ल्याई सुर्खेतमा महँगोमा बेच्ने गरेको प्रारम्भिक रूपमा खुलेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्