Trending
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै     |     मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता     |     मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु     |     शिक्षा र स्वास्थ्यमा कर नलगाउने प्रधानमन्त्रीको घोषणा, अर्थमन्त्रीसँग परामर्शपछि निर्णय     |     स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि     |     लोकदोहोरी अवार्ड : उत्कृष्ट पाँच मनोनयन सार्वजनिक     |     धादिङमा आज राति १० बजेदेखि सबै सवारी साधन चलाउन रोक     |     अविरल वर्षाका कारण काठमाडौंका विभिन्न स्थान जलमग्न     |     बागमती नदीमा घट्न थाल्यो पानीको बहाव     |     भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |    
समाचार

मुख्यमन्त्री कँडेलद्वारा अमरज्योति माविको भवन शिलान्यास

११ श्रावण २०८२, शनिबार १४:१२

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान शिक्षा प्रणालीलाई युग अनुसार परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउँदै त्यसका लागि आमूल सुधार अपरिहार्य रहेको बताएका छन्।

शुक्रबार वीरेन्द्रनगर नगरपालिका–१२ मा रहेको श्री अमरज्योति माध्यमिक विद्यालयको प्रशासनिक तथा शैक्षिक भवन शिलान्यास गर्दै उनले परम्परागत शिक्षण पद्धतिले अबको पुस्तालाई प्रतिस्पर्धी, दक्ष र उत्पादनशील बनाउन नसक्ने प्रस्ट पारे।

“हामी अझै पनि किताबमा आधारित, परीक्षा पासमुखी शिक्षामा केन्द्रित छौं,” उनले भने, “अब शिक्षालाई व्यवहारिक, प्रविधिमैत्री र जीवनोपयोगी बनाउने खालको शिक्षण पद्धति अवलम्बन गर्नुपर्छ।”

मुख्यमन्त्री कँडेलले गुणस्तरीय शिक्षाका लागि नीतिगत सुधार, स्रोतको उपयुक्त व्यवस्थापन र सक्षम शिक्षकको उपस्थिति अपरिहार्य रहेको बताए।

उनले पाठ्यक्रम, पठनपाठन विधि र मूल्यांकन प्रणालीमा सुधार आवश्यक रहेको धारणा राख्दै प्रदेश सरकारले विद्यालयहरूमा भौतिक पूर्वाधारसँगै गुणस्तर वृद्धि गर्ने नीति अवलम्बन गरिरहेको बताए।

“शिक्षा अब सामाजिक रूपान्तरणको साधन बन्नुपर्छ,” उनले भने, “यसका लागि सरकार मात्र होइन, शिक्षक, अभिभावक र समुदाय सबैको साझा भूमिका हुनुपर्छ।”

मुख्यमन्त्री कँडेलका अनुसार कर्णाली प्रदेश सरकारले विद्यालयहरूमा आवश्यक संरचना निर्माण, शिक्षक व्यवस्थापन र बजेट सुनिश्चित गर्दै आएको छ। उनले शैक्षिक भवन निर्माणले नजिकैको सुर्खेत विमानस्थलको विस्तारमा समेत सहजता ल्याउने विश्वास व्यक्त गरे।

५ करोड ८९ लाख २४ हजार ८३४ रुपैयाँ ४६ पैसाको लागतमा निर्माण हुने उक्त भवन ३३ कोठाको हुनेछ। निर्माण कार्य हेटौँडाको श्रीमान कन्स्ट्रक्सनले जिम्मा लिएको छ र यो कार्य २०८३ सालको पुष १५ गतेसम्म सम्पन्न गरिने लक्ष्य छ।

शिलान्यास कार्यक्रममा सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, नगरप्रमुख मोहनमाया ढकाल, उपप्रमुख नीलकण्ठ खनाल, शिक्षा विकास निर्देशनालय प्रमुख दिपा हमाल, शिक्षक, अभिभावक, स्थानीय प्रतिनिधि र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्