Trending
प्रधानमन्त्रीले माफी माग्नुहुन्न, बजेट बहुमतबाट पारित गर्छौँः अर्थमन्त्री वाग्ले     |     डिशहोमको विश्वकप अफर सार्वजनिक : सिजन पास खरिदमा तीन महिनासम्म निःशुल्क सुविधा     |     अविनाश र भगवतीद्वारा जुनियर राष्ट्रिय कीर्तिमान कायम     |     जेनजी आन्दोलनको क्रममा राष्ट्रपति कार्यालयबाट चोरी भएको हात्तीको दाह्रासहित पाँचजना पक्राउ     |     अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल बंगलादेशसँग पराजित     |     कार्यसूचीमा प्रवेश नगरी राष्ट्रियसभाको बैठक स्थगित     |     मोदीसँग भेटपछि रवि लामिछानेले भनेः नेपाल–भारत सम्बन्ध विकास कूटनीतिमा केन्द्रित हुनुपर्छ     |     काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन     |     रवि लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता     |     वीरगञ्जका मेयर राजेशमान सिंह सवा ४ लाख धरौटीमा रिहा     |    
समाचार

चन्द्रागिरिमा एउटै ढुङ्गाबाट निर्मित १०८ शिवलिङ्गसहितको विश्रामेश्वर महादेव मन्दिर निर्माण

११ श्रावण २०८२, शनिबार १४:२६

काठमाडौं। चन्द्रागिरि नगरपालिका–५, भुजिङडोलमा दुर्लभ र अद्भुत धार्मिक संरचना निर्माण गरिएको छ। यहाँ एउटै विशाल ढुङ्गामा १०८ वटा शिवलिङ्ग र १०८ वटा नागको आकृति कुँदिएको विश्रामेश्वर महादेवको मूर्ति स्थापना गरिएको हो।

उक्त मूर्तिमा विश्राम गरिरहेका महादेवको शिरमा सातमुखे नागले सुरक्षा दिइरहेको देखिन्छ, जसले सम्पूर्ण मूर्तिलाई आकर्षक बनाएको छ। मूर्तिको छेउमा साँढे र यज्ञ कुण्ड पनि निर्माण गरिएको छ।

‘यो सम्पूर्ण आकृति एउटै ढुङ्गामा कुँदिएको हो,’ मन्दिर निर्माण तथा संरक्षण समितिका अध्यक्ष श्यामलाल श्रेष्ठले भने, ‘धादिङको जुङ्गे खोलाबाट ल्याइएको सो ढुङ्गामा मूर्तिकार काजी लामाले करिब ६ महिना लगाएर कुँदेका हुन्।’

सात तहमा निर्माण गरिएको मूर्तिमा प्रत्येक तहमा १०८ नागको स्वरूप देख्न सकिन्छ। श्रेष्ठका अनुसार आफ्ना दिवंगत बुबा धनलाल र आमा न्हुच्छेमायाको चाहनाबाट प्रेरित भई मन्दिर निर्माण गरिएको हो। उनका अनुसार बुबा–आमाले बारम्बार सपनामा उक्त स्थानमा सुतेको अवस्थामा भगवान् शिव देखेको अनुभव सुनाउँदै मन्दिर निर्माणको अनुरोध गरेका थिए।

मन्दिर निर्माणमा हालसम्म निजी लगानीमार्फत काम अघि बढाइएको छ। मूर्तिकारलाई मात्रै ३७ लाख रुपैयाँ पारिश्रमिक दिइएको र ढुङ्गा ल्याउन करीब सात लाख रुपैयाँ खर्च भएको श्रेष्ठले बताए। उनले तरकारी ढुवानी व्यवसायबाट बचेको रकम र आमाबाट प्राप्त रकम जोडेर मन्दिर निर्माण थालेको खुलाए।

हाल मन्दिर परिसरमा शिवपुराण ज्ञान महायज्ञ पनि सञ्चालन भइरहेको छ। संयोजक ध्रुवकुमार घिमिरेले गोसाइँकुण्डमा विश्राम गरिरहेका महादेवको झल्को दिने गरी मूर्ति निर्माण गरिएको जानकारी दिए।

मन्दिर व्यवस्थापन समितिले धार्मिक पर्यटन प्रवर्द्धनको लक्ष्यसहित काम अघि बढाएको जनाएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले मन्दिर अवलोकन गर्दै नगरपालिकाबाट आवश्यक सहयोगको प्रतिबद्धता जनाएका छन्।

स्थानीय बासिन्दाहरूले नयाँ मन्दिर बनेसँगै क्षेत्रीय धार्मिक पर्यटकीय विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। स्थानीय विष्णुप्रसाद लामिछानेले मन्दिर निर्माणमा व्यक्तिगत रूपमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए।

साथै, मन्दिरको लागि ३० हजार १०५ रुपैयाँ सहयोग गर्नेको नाममा एक शिवलिङ्ग स्थापना गरिने र तीन पुस्तासम्मको नाम शिलापत्रमा राखिने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्