Trending
पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |     भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान     |     सुर्खेतमा लागुऔषध र नक्कली चुरोटसहित ६ जना पक्राउ     |     वीरेन्द्रनगरमा शिक्षक सरुवाको विवाद चर्कियो, आन्दोलनमा झडप र एक घाइते     |     प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक सुरु     |     लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |     फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट एनपिएल खेल्ने     |    
समाचार

हुम्ला–मुगु जोड्ने लोतीखोलामा बेलिब्रिज निर्माण सम्पन्न

१२ श्रावण २०८२, आईतवार २२:१६

हुम्ला। हुम्ला र मुगु जोड्ने चङ्खेली गाउँपालिका–२ स्थित लोतीखोलामा बहुप्रतीक्षित बेलिब्रिजको निर्माण सम्पन्न भएको छ। करिब पाँच महिनामा निर्माण सम्पन्न भएको ४२ मिटर लामो उक्त बेलिब्रिज कर्णाली नदीबाट १० मिटरको उचाइमा जडान गरिएको हो।

४ करोड ९८ लाख रुपैयाँको लागतमा तयार भएको यो पुलले हुम्ला–मुगु आवतजावतलाई सहज बनाएको छ। पूर्वाधार विकास कार्यालय हुम्लाका प्रमुख इञ्जिनियर नरेशराज जैसीका अनुसार बेलिब्रिजले अब गाउँपालिका केन्द्र पिप्लाङसम्मको यात्रा सुरक्षित बनाउनेछ।

अघिसम्म लोतीखोलामा स्थायी पुल नहुँदा स्थानीयले वर्षामा जोखिमपूर्ण तरिकाले तुइन तरेर यात्रा गर्नुपर्थ्यो। सवारीका लागि अस्थायी काठका पुलहरू प्रयोग गरिँदै आएका थिए, जसलाई खोलामा आएको बाढीले बारम्बार बगाउँथ्यो।

चङ्खेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीका अनुसार, निरन्तरको पहलपछि छोटो समयमा नै पुल निर्माण सम्भव भएको हो। पुल निर्माणसँगै चङ्खेलीका तीन वडाका बासिन्दालाई गाउँपालिका कार्यालयमा सुरक्षित रूपमा पुग्न सक्ने वातावरण तयार भएको छ।

पुलले हुम्ला, मुगु र जुम्लाका नागरिकलाई अब मानसरोवर दर्शन गर्न सजिलो हुने मात्र होइन, राराताल अवलोकनका लागि समेत सिधा यात्रा सहज बनाएको छ। यही साउन १३ गते पुल औपचारिक रूपमा उद्घाटन गर्दै हुम्ला–मुगु सिधा लिङ्क गरिने कार्यक्रम तय भएको छ।

चङ्खेलीका सलीसल्लाबाट मुगुको भट्याचौरसम्म ग्रामीण पहुँच कार्यक्रम (र्‍याप–थ्री) अन्तर्गत निर्माण गरिएको बाटो सञ्चालनमा आएको करिब चार वर्षपछि यो बेलिब्रिज निर्माण सम्पन्न भएको हो।

२०७८ साल मङ्सिर २३ गते सम्झौता गरिएको पुल असार २२ गते सम्पन्न भएको हो। यस निर्माण कार्यमा कर्णाली प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको निर्देशनमा पूर्वाधार विकास निर्देशनालय तथा जिल्लाको पूर्वाधार विकास कार्यालयको समन्वय रहेको थियो।

प्रतिक्रिया दिनुहोस्