Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

हुम्ला–मुगु जोड्ने लोतीखोलामा बेलिब्रिज निर्माण सम्पन्न

१२ श्रावण २०८२, आईतवार २२:१६

हुम्ला। हुम्ला र मुगु जोड्ने चङ्खेली गाउँपालिका–२ स्थित लोतीखोलामा बहुप्रतीक्षित बेलिब्रिजको निर्माण सम्पन्न भएको छ। करिब पाँच महिनामा निर्माण सम्पन्न भएको ४२ मिटर लामो उक्त बेलिब्रिज कर्णाली नदीबाट १० मिटरको उचाइमा जडान गरिएको हो।

४ करोड ९८ लाख रुपैयाँको लागतमा तयार भएको यो पुलले हुम्ला–मुगु आवतजावतलाई सहज बनाएको छ। पूर्वाधार विकास कार्यालय हुम्लाका प्रमुख इञ्जिनियर नरेशराज जैसीका अनुसार बेलिब्रिजले अब गाउँपालिका केन्द्र पिप्लाङसम्मको यात्रा सुरक्षित बनाउनेछ।

अघिसम्म लोतीखोलामा स्थायी पुल नहुँदा स्थानीयले वर्षामा जोखिमपूर्ण तरिकाले तुइन तरेर यात्रा गर्नुपर्थ्यो। सवारीका लागि अस्थायी काठका पुलहरू प्रयोग गरिँदै आएका थिए, जसलाई खोलामा आएको बाढीले बारम्बार बगाउँथ्यो।

चङ्खेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीका अनुसार, निरन्तरको पहलपछि छोटो समयमा नै पुल निर्माण सम्भव भएको हो। पुल निर्माणसँगै चङ्खेलीका तीन वडाका बासिन्दालाई गाउँपालिका कार्यालयमा सुरक्षित रूपमा पुग्न सक्ने वातावरण तयार भएको छ।

पुलले हुम्ला, मुगु र जुम्लाका नागरिकलाई अब मानसरोवर दर्शन गर्न सजिलो हुने मात्र होइन, राराताल अवलोकनका लागि समेत सिधा यात्रा सहज बनाएको छ। यही साउन १३ गते पुल औपचारिक रूपमा उद्घाटन गर्दै हुम्ला–मुगु सिधा लिङ्क गरिने कार्यक्रम तय भएको छ।

चङ्खेलीका सलीसल्लाबाट मुगुको भट्याचौरसम्म ग्रामीण पहुँच कार्यक्रम (र्‍याप–थ्री) अन्तर्गत निर्माण गरिएको बाटो सञ्चालनमा आएको करिब चार वर्षपछि यो बेलिब्रिज निर्माण सम्पन्न भएको हो।

२०७८ साल मङ्सिर २३ गते सम्झौता गरिएको पुल असार २२ गते सम्पन्न भएको हो। यस निर्माण कार्यमा कर्णाली प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको निर्देशनमा पूर्वाधार विकास निर्देशनालय तथा जिल्लाको पूर्वाधार विकास कार्यालयको समन्वय रहेको थियो।

प्रतिक्रिया दिनुहोस्