Trending
पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |     भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान     |     सुर्खेतमा लागुऔषध र नक्कली चुरोटसहित ६ जना पक्राउ     |     वीरेन्द्रनगरमा शिक्षक सरुवाको विवाद चर्कियो, आन्दोलनमा झडप र एक घाइते     |     प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक सुरु     |     लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |     फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट एनपिएल खेल्ने     |    
समाचार

जुम्लामा जंगली च्याउ खाँदा एकै घरका पाँच जना बिरामी

१३ श्रावण २०८२, सोमबार २२:५४

जुम्ला। जुम्लाको गुठिचौर गाउँपालिका–१ स्थित मणिसाँघुमा जंगली च्याउ सेवनका कारण एकै परिवारका पाँच जना सदस्य बिरामी परेका छन्।

आइतबार दिउँसो ३ बजे घरमै पकाएर खाएको च्याउ विषालु परेपछि उनीहरू बिरामी परेका हुन्।

बिरामी पर्नेमा ६० वर्षीय लेखकमान महतारा, ५८ वर्षीया राजकुमारी महतारा, ४५ वर्षीया कल्पना रावत, २८ वर्षीया सपना महतारा विष्ट र ३ वर्षीय बालक पुजन विष्ट रहेका छन्।

घटनाको जानकारी पाएलगत्तै प्रहरीले उनीहरूलाई तत्काल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल जुम्ला पुर्‍याएको थियो। अस्पतालका अनुसार हाल सबै बिरामीको अवस्था सामान्य छ।

प्रहरी निरीक्षक अशिम हमालले च्याउ सेवनकै कारण परिवारका सदस्य बिरामी परेको पुष्टि गर्दै भने, “उनीहरूलाई समयमै अस्पताल ल्याइएकाले ठूलो क्षति हुन पाएन।”

भौगोलिक विकटताका कारण अस्पतालसम्मको यात्रा कठिन भए पनि स्थानीय प्रहरी र स्वास्थ्यकर्मीको सहयोगमा बिरामीलाई सवा ७ बजेतिर अस्पताल पुर्‍याइएको थियो। मणिसाँघु प्रहरीचौकीबाट प्रहरी सहायक निरीक्षक मञ्जित ओलीको नेतृत्वमा तीन सदस्यीय टोली घटनास्थल पुगेको थियो।

स्थानीयहरूका अनुसार वर्षायाममा जंगली च्याउ विभिन्न स्थानमा पाइने भए पनि तीमध्ये केही अत्यन्त विषालु हुन्छन्। सावधानी नअपनाई च्याउ खाँदा यस्ता दुर्घटना हुने गरेको स्थानीयले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाले सर्वसाधारणलाई जंगली च्याउ नखान र खानै परेमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्