Trending
सार्वजनिक स्थानको वाईफाई प्रयोगमा नयाँ नियम: तपाईँको पहुँच र गोपनीयतामा कस्तो असर पर्ला?     |     नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ सवारी साधनहरु लन्च हुँदै     |     युवा संघ विभाजित : झलनाथ, घनश्याम निकटको युवा भेला भोली, प्रमुख अतिथि रामकुमारी झाँक्री     |     नेपाल टेलिकमको नेटवर्क समस्या समाधान, करिब साढे ४ घण्टापछि सेवा पुनः सञ्चालनमा     |     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना     |     नागको पूजा गरेर आज नागपञ्चमी पर्व मनाइँदै     |     पारा तेक्वान्दो टोली मलेसिया जाँदै     |     विश्व बैंकद्वारा ऋणको ब्याजदर ०.७५ प्रतिशतले वृद्धि     |     जुम्लामा जंगली च्याउ खाँदा एकै घरका पाँच जना बिरामी     |     पोखरामा फेला परे ‘बेपत्ता’ भनिएका हायू परिवारका १५ सदस्य     |    
खेलकुद

पारा तेक्वान्दो टोली मलेसिया जाँदै

१३ श्रावण २०८२, सोमबार २३:०५

काठमाडौँ। दशौँ एसियाली जुनियर, क्याडेट तथा पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन पाँच खेलाडीसहित सात सदस्यीय नेपाली टोली मलेसियाको सरावक जाने भएको छ ।

यही जुलाई २४ देखि सुरु भएको उक्त प्रतियोगिता अगष्ट १ तारिखसम्म सञ्चालन हुनेछ । पाराको ग्योरोगीतर्फको खेल अगष्ट १ तारिखमा हुनेछ ।

पाँचै खेलाडीले ‘के ४४ क्याटगोरी’अन्तर्गत विभिन्न तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ५८ केजीमुनि ओलम्पियन भरतसिंह महता तथा ६३ केजीमुनि अमिर भ्लोनले प्रतिस्पर्धा गर्ने छन् ।

महिला ५७ केजीमुनि पेरिस पारालिम्पिक तथा चौथो एसियाली पारा खेलकुदकी कास्य विजेता पलेशा गोवर्द्धन तथा ४७ केजीमुनि कामना प्रसाईँ र रेणु तामाङले खेल्ने छन् ।

कामना र रेणुको यो ‘डेब्यु’ अन्तरराष्ट्रिय प्रतियोगिता हुनेछ । चीनको साङ्घाइमा अध्ययन गरिरहेकी पलेशा त्यतैबाट मलेसिया जाने जनाइएको छ ।

टोलीको व्यवस्थापकमा राखेपका सदस्य रामचन्द्र श्रेष्ठ तथा प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन् । नेपालले सुरुको संस्करणदेखि नियमित रूपमा प्रतियोगितामा सहभागी हुँदै आएको छ ।

यो अवधिमा एक रजत र पाँच कास्य गरी छ पदक जितेको छ । रञ्जना धामीले रजत र कास्य जितेकी छन् । पलेशा, अरुण शाक्य, सीता भण्डारी र रोहितहाङ राईले कास्य प्राप्त गरेका छन् ।

प्रतियोगितामा ४५ राष्ट्रका १५० खेलाडीको सहभागिता रहने प्रशिक्षक लामाले जानकारी दिए। टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ, राखेपका सदस्य हिमालकुमार श्रेष्ठ र राष्ट्रिय टोली तयारी समितिका निर्देशक दीपक विष्टले आज यहाँ आयोजित एक कार्यक्रममा बिदाइ गरेका छन।

कार्यक्रममा सदस्य–सचिव घिसिङले नेपाली पारा तेक्वान्दो ‘ब्रान्ड’ का रूपमा स्थापित भइसकेको धारणा राख्दै अन्तरराष्ट्रिय मञ्चमा पारा तेक्वान्दोले हासिल गरेको उपलब्धिलाई टोलीले निरन्तरता दिने विश्वास व्यक्त गरेका छन।

निर्देशक विष्टले पारा तेक्वान्दोमा एसिया बलियो क्षेत्र भएकाले यो प्रतियोगितामा पदक जित्न सके ओलम्पिकमा पदक जित्ने सम्भावना प्रबल हुने बताए।

प्रशिक्षक लामाले वरियता सुधारका लागि प्रतियोगिता महत्त्वपूर्ण भएको र यसमा सफल भए ओलम्पिकमा सहभागिता सहज हुने बताए । नेपाली टोली भोलि मलेसिया प्रस्थान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्