Trending
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै     |     मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता     |     मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु     |     शिक्षा र स्वास्थ्यमा कर नलगाउने प्रधानमन्त्रीको घोषणा, अर्थमन्त्रीसँग परामर्शपछि निर्णय     |     स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि     |     लोकदोहोरी अवार्ड : उत्कृष्ट पाँच मनोनयन सार्वजनिक     |     धादिङमा आज राति १० बजेदेखि सबै सवारी साधन चलाउन रोक     |     अविरल वर्षाका कारण काठमाडौंका विभिन्न स्थान जलमग्न     |     बागमती नदीमा घट्न थाल्यो पानीको बहाव     |     भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |    
समाचार

बडिमालिका मन्दिरतर्फ कालिकोटबाट पहिलोपटक सरकारी टोली डोलीसहित प्रस्थान

१८ श्रावण २०८२, शनिबार १५:३७

कालिकोट। पश्चिम नेपालको प्रमुख धार्मिक तीर्थस्थल बडिमालिका मन्दिरतर्फ कालिकोट जिल्लाबाट पहिलोपटक औपचारिक रूपमा सरकारी टोली डोलीसहित प्रस्थान गरेको छ।

यसअघि डोटी र जुम्ला जिल्लाबाट मात्र सेना, प्रहरीसहितको टोली बडिमालिका पुग्ने परम्परा रहँदै आएको थियो। शुक्रबार मान्मबाट हिँडेको सरकारी टोली शनिबार बिहान रास्कोट हुँदै त्रिवेणी धामतर्फ उकालो लागेको हो। प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नारायण प्रसाद भट्टराईका अनुसार, कालिकोटको भूभागमै पर्ने त्रिवेणी धाम र बडिमालिकाको मूल पूजारी फुकोटबाट जाने परम्परालाई सम्मान गर्दै यसपटक १० सदस्यीय सरकारी टोली पठाइएको हो।

टोलीको नेतृत्व जिल्ला प्रशासन कार्यालय कालीकोटका खरिदार लक्ष्मीरुद्र धितालले गरेका छन्। टोलीमा मुख्य पुजारी हरिकृष्ण धमलासहित अन्य दुई जना पुजारी र स्थानीय श्रद्धालुहरू पनि सहभागी छन्। यात्रा सुरु गर्नु अघि टोलीले जिल्ला प्रहरी कार्यालय अगाडिको मन्दिरमा पूजाआजा गरी शुभसाइत गरेका थिए।

प्रजिअ भट्टराईका अनुसार, “तीर्थयात्री नुहाएर शुद्ध हुने त्रिवेणी धाम, ज्यूली पाटन र बडिमालिकाका पुजारी समेत कालिकोटबाट जाने परम्परा रहेकोले यसपालि सम्मानपूर्वक डोलीसहितको टोली पठाइएको हो।”

टोलीलाई प्रजिअ भट्टराई, प्रहरी प्रमुख डिएसपी टेकबहादुर रावत, विभिन्न सरकारी कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधि र स्थानीयवासीहरूले बिदाइ गरेका थिए।

धार्मिक विश्वास अनुसार, बडिमालिका माताको मन्दिरमा पूजाआजा गरे मनोकांक्षा पूरा हुने विश्वास रहिआएको छ। परम्परागत रूपमा जुम्लाबाट ‘डोली’ र डोटीबाट ‘पेठारो’ लिएर बडिमालिकाको पूजामा सरकारी टोली पुग्ने परम्परा रहँदै आएकोमा यसपालि कालिकोटबाट पनि त्यस्तो टोली प्रस्थान गर्नु महत्वपूर्ण मानिएको छ।

बडिमालिका तीर्थयात्रा गर्ने श्रद्धालुहरू कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकामा पर्ने जिउली पाटनमा पाल हालेर बसोबास गर्ने, त्रिवेणी धाममा स्नान गरेर मन्दिरमा पूजा गर्ने र फेरि फर्किने परम्परा कायमै छ। सरकारी टोलीलाई अनुमानित ६ दिनको यात्रा पश्चात फर्कने कार्यक्रम तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्