Trending
पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |     भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान     |     सुर्खेतमा लागुऔषध र नक्कली चुरोटसहित ६ जना पक्राउ     |     वीरेन्द्रनगरमा शिक्षक सरुवाको विवाद चर्कियो, आन्दोलनमा झडप र एक घाइते     |     प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक सुरु     |     लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |     फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट एनपिएल खेल्ने     |    
समाचार

बडिमालिका मन्दिरतर्फ कालिकोटबाट पहिलोपटक सरकारी टोली डोलीसहित प्रस्थान

१८ श्रावण २०८२, शनिबार १५:३७

कालिकोट। पश्चिम नेपालको प्रमुख धार्मिक तीर्थस्थल बडिमालिका मन्दिरतर्फ कालिकोट जिल्लाबाट पहिलोपटक औपचारिक रूपमा सरकारी टोली डोलीसहित प्रस्थान गरेको छ।

यसअघि डोटी र जुम्ला जिल्लाबाट मात्र सेना, प्रहरीसहितको टोली बडिमालिका पुग्ने परम्परा रहँदै आएको थियो। शुक्रबार मान्मबाट हिँडेको सरकारी टोली शनिबार बिहान रास्कोट हुँदै त्रिवेणी धामतर्फ उकालो लागेको हो। प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नारायण प्रसाद भट्टराईका अनुसार, कालिकोटको भूभागमै पर्ने त्रिवेणी धाम र बडिमालिकाको मूल पूजारी फुकोटबाट जाने परम्परालाई सम्मान गर्दै यसपटक १० सदस्यीय सरकारी टोली पठाइएको हो।

टोलीको नेतृत्व जिल्ला प्रशासन कार्यालय कालीकोटका खरिदार लक्ष्मीरुद्र धितालले गरेका छन्। टोलीमा मुख्य पुजारी हरिकृष्ण धमलासहित अन्य दुई जना पुजारी र स्थानीय श्रद्धालुहरू पनि सहभागी छन्। यात्रा सुरु गर्नु अघि टोलीले जिल्ला प्रहरी कार्यालय अगाडिको मन्दिरमा पूजाआजा गरी शुभसाइत गरेका थिए।

प्रजिअ भट्टराईका अनुसार, “तीर्थयात्री नुहाएर शुद्ध हुने त्रिवेणी धाम, ज्यूली पाटन र बडिमालिकाका पुजारी समेत कालिकोटबाट जाने परम्परा रहेकोले यसपालि सम्मानपूर्वक डोलीसहितको टोली पठाइएको हो।”

टोलीलाई प्रजिअ भट्टराई, प्रहरी प्रमुख डिएसपी टेकबहादुर रावत, विभिन्न सरकारी कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधि र स्थानीयवासीहरूले बिदाइ गरेका थिए।

धार्मिक विश्वास अनुसार, बडिमालिका माताको मन्दिरमा पूजाआजा गरे मनोकांक्षा पूरा हुने विश्वास रहिआएको छ। परम्परागत रूपमा जुम्लाबाट ‘डोली’ र डोटीबाट ‘पेठारो’ लिएर बडिमालिकाको पूजामा सरकारी टोली पुग्ने परम्परा रहँदै आएकोमा यसपालि कालिकोटबाट पनि त्यस्तो टोली प्रस्थान गर्नु महत्वपूर्ण मानिएको छ।

बडिमालिका तीर्थयात्रा गर्ने श्रद्धालुहरू कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकामा पर्ने जिउली पाटनमा पाल हालेर बसोबास गर्ने, त्रिवेणी धाममा स्नान गरेर मन्दिरमा पूजा गर्ने र फेरि फर्किने परम्परा कायमै छ। सरकारी टोलीलाई अनुमानित ६ दिनको यात्रा पश्चात फर्कने कार्यक्रम तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्