Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

सल्यानमा डढुवा रोगको प्रकोप

२५ श्रावण २०८२, शनिबार १८:०५

सल्यान। सल्यानका विभिन्न स्थानमा डढुवा रोगको प्रकोप फैलिँदा टमाटर किसानले ठूलो आर्थिक क्षति बेहोर्नु परेको छ।

छत्रेश्वरी गाउँपालिका–४ जयचौरका ३४ वर्षीय हुर्मत डाँगीले गत जेठमा १० रोपनी जग्गामा ६ हजार टमाटरका बोट लगाएका थिए। १ सय ५० क्विन्टल उत्पादन गरेर करिब ६ लाख रुपैयाँ आम्दानी गर्ने योजना बनाए पनि असारको अन्तिमतिर लगातार वर्षापछि डढुवा रोग फैलिँदा फल लागिसकेका सबै टमाटर नष्ट भए।

कपुरकोट गाउँपालिका–१ का सम्पद बुढाथोकीले १८ रोपनीमा २८ हजार बोट टमाटर लगाएका थिए। फल पाक्न थालेको बेलामा रोगको प्रकोप देखिँदा विषादी प्रयोग गरे पनि १४ क्विन्टलभन्दा बढी टमाटर कुहिएर खेर गयो।

यस्तै, कपुरकोट–३ का पदम बुढाथोकीले १० रोपनीमा लगाएको टमाटर डढुवा रोगले नष्ट भएपछि बोट उखेलेर धान रोपेका छन्। कपुरकोट–१ का धनबहादुर घर्तीका अनुसार एउटै किसानले २५ देखि ३० हजार रुपैयाँ बराबरको क्षति व्यहोरेका छन्।

कपुरकोट गाउँपालिकाभित्र ३ हजारभन्दा बढी किसान व्यावसायिक तरकारी खेतीमा संलग्न छन्, जसमा टमाटर प्रमुख बाली हो। कृषि शाखा प्रमुख विनोद थापाका अनुसार डढुवा रोगका कारण करिब ५० प्रतिशत किसान प्रभावित भएका छन् र ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।

छत्रेश्वरी गाउँपालिकाका कृषि प्राविधिक सुदिप खनालले जयचौर, भोटेचौर र सांघारका दर्जनौँ किसानको टमाटर खेतीमा रोगको असर परेको बताए। कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी ईश्वरी नारायण घर्तीका अनुसार सिद्धेश्वरीको ढोडचौर र शारदा नगरपालिकाका केही क्षेत्रमा पनि डढुवाको प्रकोप देखिएको छ।

प्रतिक्रिया दिनुहोस्