Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

भारततर्फ भागेका कालिकोटका चार बालक नेपालगञ्जमा भेटिए

२ भाद्र २०८२, सोमबार २२:३७

कालिकोट। भारत जाने योजनासहित घरबाट भागेका कालिकोटका चार बालक नेपालगञ्जमा भेटिएका छन् । महाबै गाउँपालिका–५ गेलाका सर्जन शाही, अर्जुन शाही, सन्दीप सुनार र सुर्खेत घर भई हाल गेलामै बस्दै आएका गोरे खड्का बिहीबार बेलुकी घरबाट भागेका थिए ।

उनीहरू कर्णाली राजमार्ग हुँदै मान्म पुगेपछि बाटो हुँदै बाँकेको नेपालगञ्ज पुगेका थिए । नेपालगञ्ज बसपार्क नजिकै रहेका होटल व्यवसायी प्रेमबहादुर शाहीले भेटेपछि उनीहरूको विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे । त्यसपछि आफन्तहरू सम्पर्कमा आएका हुन् ।

सबैको उमेर १३ वर्षको छ भने सुर्खेतका खड्का बाहेक तीन जना कालिका मावि गेलामा कक्षा ८ मा अध्ययनरत छन् । बालकहरूले पैसा कमाएर मोबाइल किन्न भारत जाने योजना बनाएको जानकारी शाहीले बताए ।

उनका अनुसार, घरबाट २४ हजार र १७ हजार रुपैयाँ लिएर भागेका दुई बालकले बाटोमा खानपिन र यातायातमा खर्च गर्दा ११ हजार सकिएको थियो भने अझै २१ हजार रुपैयाँसहित नेपालगञ्जमा भेटिएका थिए । सोमबार बिहानै दुई बालकलाई अभिभावकको जिम्मा लगाइएको र बाँकी दुईका आफन्त लिन नेपालगञ्ज आइरहेका छन् ।

हराइएका बालकको खोजीका लागि आफन्तहरूले प्रहरी चौकी पिली र जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी गरेका थिए । प्रहरी खोजी भइरहे पनि उनीहरू नेपालगञ्जमै भेटिएको अर्जुन शाहीका बुबा तुलाराज शाहीले जानकारी दिए ।

शिक्षा विकास तथा समन्वय इकाई कालिकोटका प्रकाश धितालका अनुसार, कर्णाली राजमार्ग हुँदै विद्यालय पढ्ने उमेरका बालबालिका भारततर्फ भाग्ने क्रम बढ्दै गएको छ, जसले बीचैमा पढाइ छाड्नेको संख्या बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्