Trending
नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |     फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट एनपिएल खेल्ने     |     वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट     |     फोहरमैला घरमै राख्न काठमाडौँ महानगरको आग्रह     |     दोस्रो नेशनल स्वीमिङ च्याम्पियनसिप २०२५ नेपालगन्जमा सुरु     |     ‘परान’ आजदेखि प्रदर्शनमा     |     सुर्खेतमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ     |     भारत–अमेरिका बीच दश वर्षे रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर     |     सुनको मूल्य बढ्यो     |     नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |    
समाचार

भारततर्फ भागेका कालिकोटका चार बालक नेपालगञ्जमा भेटिए

२ भाद्र २०८२, सोमबार २२:३७

कालिकोट। भारत जाने योजनासहित घरबाट भागेका कालिकोटका चार बालक नेपालगञ्जमा भेटिएका छन् । महाबै गाउँपालिका–५ गेलाका सर्जन शाही, अर्जुन शाही, सन्दीप सुनार र सुर्खेत घर भई हाल गेलामै बस्दै आएका गोरे खड्का बिहीबार बेलुकी घरबाट भागेका थिए ।

उनीहरू कर्णाली राजमार्ग हुँदै मान्म पुगेपछि बाटो हुँदै बाँकेको नेपालगञ्ज पुगेका थिए । नेपालगञ्ज बसपार्क नजिकै रहेका होटल व्यवसायी प्रेमबहादुर शाहीले भेटेपछि उनीहरूको विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे । त्यसपछि आफन्तहरू सम्पर्कमा आएका हुन् ।

सबैको उमेर १३ वर्षको छ भने सुर्खेतका खड्का बाहेक तीन जना कालिका मावि गेलामा कक्षा ८ मा अध्ययनरत छन् । बालकहरूले पैसा कमाएर मोबाइल किन्न भारत जाने योजना बनाएको जानकारी शाहीले बताए ।

उनका अनुसार, घरबाट २४ हजार र १७ हजार रुपैयाँ लिएर भागेका दुई बालकले बाटोमा खानपिन र यातायातमा खर्च गर्दा ११ हजार सकिएको थियो भने अझै २१ हजार रुपैयाँसहित नेपालगञ्जमा भेटिएका थिए । सोमबार बिहानै दुई बालकलाई अभिभावकको जिम्मा लगाइएको र बाँकी दुईका आफन्त लिन नेपालगञ्ज आइरहेका छन् ।

हराइएका बालकको खोजीका लागि आफन्तहरूले प्रहरी चौकी पिली र जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी गरेका थिए । प्रहरी खोजी भइरहे पनि उनीहरू नेपालगञ्जमै भेटिएको अर्जुन शाहीका बुबा तुलाराज शाहीले जानकारी दिए ।

शिक्षा विकास तथा समन्वय इकाई कालिकोटका प्रकाश धितालका अनुसार, कर्णाली राजमार्ग हुँदै विद्यालय पढ्ने उमेरका बालबालिका भारततर्फ भाग्ने क्रम बढ्दै गएको छ, जसले बीचैमा पढाइ छाड्नेको संख्या बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्