Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

सल्यानमा मकैबाली संकट : बँदेलको उत्पातले सयौँ किसान प्रभावित

५ भाद्र २०८२, बिहीबार १६:४२

सल्यान। जिल्लाका विभिन्न पालिकामा जंगली बँदेलको आक्रमणले किसानहरू समस्यामा परेका छन्। बथानका रूपमा गाउँ पस्ने बँदेलले यसपालि मात्रै तीन सय रोपनीभन्दा बढी मकैबाली नष्ट गरेको स्थानीयले बताएका छन्।

शारदा नगरपालिका–५ रानीकोट, ६ सापमारा, ७ ओखरेनी, बन्गाड कुपिण्डे नगरपालिका–१२ निगालचुला, ६ आमखोली, कुमाख गाउँपालिका–५ कालागाउँ, ६ बडागाउँ, छत्रेश्वरी गाउँपालिका–२ खोरबारे लगायतका क्षेत्रमा बालीमा क्षति पुगेको हो। यस्तै, कपुर्कोट र कालिमाटी गाउँपालिकामा पनि किसान प्रभावित भएका छन्।

छत्रेश्वरी–२ खोरबारेका किसान बालाराम ओलीका अनुसार, दुई रोपनीमा लगाएको मकै बथानमै आएको बँदेलले एकै रातमा सखाप बनाइदिएको छ। “दिनभर पहरा दिए पनि रातभर रोक्न सकिँदैन, बिहान उठ्दा खेत उजाड हुन्छ,” उनले भने।

बन्गाड कुपिण्डे–१२ निगालचुलाका वडाध्यक्ष लालबहादुर घर्तीले मात्रै चौर र भदालेमा ३५ किसानको करिब ५० रोपनी मकैबाली पूर्णरूपमा नष्ट भएको बताए। बाली जोगाउन बँदेललाई लखेट्दा तीन जना किसान घाइते समेत भएका छन्।

कुमाख गाउँपालिकाकी कृषि शाखा अधिकृत सुसन गौतमले वडा नं. ५ र ६ मा ठूलो क्षति पुगेको बताउँदै, क्षतिको विवरण संकलनका लागि टोली पठाउने तयारी भएको जानकारी दिइन्।

डिभिजन वन कार्यालय सल्यानका प्रमुख तेकबहादुर रावलले जंगली जनावरबाट बालीमा क्षति पुगेमा किसानलाई १० हजार रुपैयाँसम्म राहत दिने व्यवस्था भए पनि हालसम्म शारदा–५ का तीन जनाले मात्र निवेदन दिएको बताए।

स्थानीय किसानहरू भने वर्षमा चार महिना जीविकोपार्जन गर्ने मुख्य स्रोत मकैबाली नष्ट भएपछि परिवार पाल्ने चिन्तामा परेका छन्।

प्रतिक्रिया दिनुहोस्