Trending
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |     एरिकालाई नगद एक लाखसहित सम्मान     |     कर्णाली याक्स र एसियन पेन्ट्सबिच सम्झौता     |     ‘वरिष्ठ बलराम’ले पाँच दिनमा कति कमायो ?     |     संगीतकर्मी गिरीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति     |     दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव     |     मौसमका कारण हवाई उडान सामान्य प्रभावित     |     कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी     |     साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |    
समाचार

सल्यानमा मकैबाली संकट : बँदेलको उत्पातले सयौँ किसान प्रभावित

५ भाद्र २०८२, बिहीबार १६:४२

सल्यान। जिल्लाका विभिन्न पालिकामा जंगली बँदेलको आक्रमणले किसानहरू समस्यामा परेका छन्। बथानका रूपमा गाउँ पस्ने बँदेलले यसपालि मात्रै तीन सय रोपनीभन्दा बढी मकैबाली नष्ट गरेको स्थानीयले बताएका छन्।

शारदा नगरपालिका–५ रानीकोट, ६ सापमारा, ७ ओखरेनी, बन्गाड कुपिण्डे नगरपालिका–१२ निगालचुला, ६ आमखोली, कुमाख गाउँपालिका–५ कालागाउँ, ६ बडागाउँ, छत्रेश्वरी गाउँपालिका–२ खोरबारे लगायतका क्षेत्रमा बालीमा क्षति पुगेको हो। यस्तै, कपुर्कोट र कालिमाटी गाउँपालिकामा पनि किसान प्रभावित भएका छन्।

छत्रेश्वरी–२ खोरबारेका किसान बालाराम ओलीका अनुसार, दुई रोपनीमा लगाएको मकै बथानमै आएको बँदेलले एकै रातमा सखाप बनाइदिएको छ। “दिनभर पहरा दिए पनि रातभर रोक्न सकिँदैन, बिहान उठ्दा खेत उजाड हुन्छ,” उनले भने।

बन्गाड कुपिण्डे–१२ निगालचुलाका वडाध्यक्ष लालबहादुर घर्तीले मात्रै चौर र भदालेमा ३५ किसानको करिब ५० रोपनी मकैबाली पूर्णरूपमा नष्ट भएको बताए। बाली जोगाउन बँदेललाई लखेट्दा तीन जना किसान घाइते समेत भएका छन्।

कुमाख गाउँपालिकाकी कृषि शाखा अधिकृत सुसन गौतमले वडा नं. ५ र ६ मा ठूलो क्षति पुगेको बताउँदै, क्षतिको विवरण संकलनका लागि टोली पठाउने तयारी भएको जानकारी दिइन्।

डिभिजन वन कार्यालय सल्यानका प्रमुख तेकबहादुर रावलले जंगली जनावरबाट बालीमा क्षति पुगेमा किसानलाई १० हजार रुपैयाँसम्म राहत दिने व्यवस्था भए पनि हालसम्म शारदा–५ का तीन जनाले मात्र निवेदन दिएको बताए।

स्थानीय किसानहरू भने वर्षमा चार महिना जीविकोपार्जन गर्ने मुख्य स्रोत मकैबाली नष्ट भएपछि परिवार पाल्ने चिन्तामा परेका छन्।

प्रतिक्रिया दिनुहोस्