Trending
रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा     |     ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित     |     जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु     |     प्रहरीमा चार वटा विभाग एआईजीविहीन, ९ जना डीआईजीको प्रतिस्पर्धा     |     बौद्धको खुकुरी प्रहार घटनामा फरार भएका तीन जना पक्राउ     |     वीरेन्द्रनगरमा प्रदेशस्तरीय युवा मानवअधिकार रक्षक सम्मेलन सम्पन्न     |     जुम्ला जिल्ला समन्वय समिति परिसरमा सकेट बम फेला     |     पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण बढ्दै     |     कोशी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |    
समाचार

प्रहरीमा चार वटा विभाग एआईजीविहीन, ९ जना डीआईजीको प्रतिस्पर्धा

२२ भाद्र २०८२, आईतवार २१:४८

काठमाडौं। नेपाल प्रहरीमा चार जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दरबन्दी रिक्त भएको छ।

१८ भदौमा तत्कालीन प्रहरी महानिरीक्षक दीपक थापाको अवकाशसँगै चार एआईजीको दरबन्दी रिक्त हुँदा प्रहरीका विभागहरू प्रमुखविहीन छन्।

केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत् चन्द्रकुबेर खापुङ प्रहरी महानिरीक्षक नियुक्त भएपछि ब्युरो एआईजीविहीन छ। १३ भदौमा कृष्णहरि शर्मा अवकाशमा जाँदा प्रशासन विभाग खाली छ। यस्तै, काठमाडौं उपत्यका प्रहरी कार्यालयमा कार्यरत् टेकबहादुर तामाङको अवकाशपछि दरबन्दी रिक्त छ।

सुदीप गिरी अवकाशमा गएपछि प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानको दरबन्दी खाली छ। प्रहरीमा आठ जना एआइजी दरबन्दी छ। सबैले मुख्य विभागको नेतृत्व गर्छन्। खापुङले पदभार ग्रहण गरेसँगै नयाँ एआइजी बढुवाको तयारीमा प्रहरी प्रधान कार्यालय लागेको छ। तर, कहिले बढुवा समिति बैठक बस्ने हो भन्ने अन्योल छ।

“बढुवा नियमित प्रक्रिया हो, बढुवाका हुन्छ,” केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले भने। अहिले रिक्त रहेको एआईजी दरबन्दीमा ९ जना डीआईजीहरू प्रतिस्पर्धामा छन्। जसमध्ये चार जना २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा स्थानान्तरण भएका डीआईजीहरू बढुवाका मुख्य दाबेदार मानिएका छन्।

उनीहरू सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक हुन्। चारै जना समावेशी समूहमा रहेकाले भूगोल समेटेर बढुवा गर्न सरकारलाई दबाब छ। राठौर प्रशासन विभाग, चतुर्वेदी मधेस प्रदेश, श्रेष्ठ अख्तियार र विक सूदूरपश्चिम प्रदेशमा कार्यरत् छन्।

यता, २०५४ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका ईश्वर कार्की, अरूण पौडेल, दिनेश आचार्य, राजेन्द्रप्रसाद भट्ट र गोविन्द थपलिया बढुवामा प्रतिस्पर्धी छन्।

कार्की कोशी प्रदेश, पौडेल बागमती प्रदेश, आचार्य गण्डकी प्रदेश, भट्ट लुम्बिनी प्रदेश र थपलिया केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत् छन्।

एआईजी बढुवाका लागि गृहसचिवको अध्यक्षतामा प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्य सचिव रहने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्