Trending
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |     एरिकालाई नगद एक लाखसहित सम्मान     |     कर्णाली याक्स र एसियन पेन्ट्सबिच सम्झौता     |     ‘वरिष्ठ बलराम’ले पाँच दिनमा कति कमायो ?     |     संगीतकर्मी गिरीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति     |     दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव     |     मौसमका कारण हवाई उडान सामान्य प्रभावित     |     कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी     |     साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |    
समाचार

सत्तरी वर्षपछि सुनकोशी र रोशीमा भयानक बाढी

१३ आश्विन २०८१, आईतवार ०७:२७

१३ असोज, सिन्धुली । रोशी र सुनकोशीको बाढीबाट सिन्धुली सर्वाधिक प्रभावित भएका छन् । जिल्लाका गाउँबस्ती, फाँट, सडक, विद्यालय भवन, विद्युत् आयोजना, ठूला–साना पक्की र झोलुङ्गे पुलमा धेरै हानी भएको छ । सत्तरी वर्षअघि यस्तै बाढी देखेको स्थानीय ज्येष्ठ नागरिकहरूले बताए ।

बाढीबाट खुर्कोट बसपार्क डुबेको छभने  रामेछाप जाने खुर्कोटको पक्की पुल पनि बगेको छ । बाढीले गाउँबस्तीलाई बगरमा परिणत गरेको छभने धानबाली नष्ट भएको छ । सुनकोशीको बाढीले दुम्जाफाँट, खुर्कोट, मुलकोट, दिङ्दिङबेँसी, कुखुरेटार, च्याकुटार, सुम्नाङबेँसी, खाङ्साङलगायत गाउँबस्तीका साथै अन्य स्थानका भौतिक पूर्वाधारमा क्षति भएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले बताए ।

बाढी प्रभावित क्षेत्रमा स्थानीय र सुरक्षाकर्मीको सहयोग तथा समन्वयमा खोजी र उद्धार जारी रहेको तथा वर्षा रोकिएसँगै अवरुद्ध बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग सञ्चालनको प्रयास आजदेखि प्रारम्भ गरिने उनले बताए ।

बिपी राजमार्गअन्तर्गत सिन्धुलीदेखि मुलकोटसम्म अवरोध नरहेका तथा दुम्जा क्षेत्रमा भत्किएको सडक मर्मत गर्न सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी र सडक विभागको सहकार्यमा यथाशीघ्र बाटो खोलिने उनले बताए ।

प्रभावित क्षेत्रका विपद्मा परेका नागरिकलाई राहत र उद्धारका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वय भइरहेको छ ।

भत्किएको सडक र पुल मर्मत गरी यथाशीघ्र यातायातका साधन सञ्चालनका लागि सङ्घ र प्रदेश सरकारसँग बजेट र अन्य सहायताका निम्ति अनुरोध गरिएको गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्