Trending
साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |     सल्यानमा प्रतिबन्धित औषधि ‘प्रिगा’ बिक्री गर्ने एक व्यक्ति पक्राउ     |     दैलेखका युवकको जाजरकोटमा हत्या, घटनामा संलग्न ६ जना पक्राउ     |     रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार     |     डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर     |     नेपाल अमेरिकासँग १०६ रनले पराजित     |     अफगानिस्तानसँग नेपाल पराजित     |     मन्त्रालय अन्तर्गतका सबै निकायको बैठक प्रत्यक्ष प्रसारण गर्ने खेलकुद मन्त्रीको पहिलो निर्णय     |     टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो     |    
समाचार

नयाँ बसपार्कमा यात्रुको निःशुल्क स्वास्थ्य परीक्षण

४ आश्विन २०८२, शनिबार १४:३४

काठमाडौँ। गोँगबुस्थित नयाँ बसपार्कमा चाडपर्वमा घर जाने यात्रुको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको छ । काठमाडौँ महानगरपालिकाले यात्रु सहायता कक्षबाटै नि:शुल्क स्वास्थ्य परीक्षण सुरु गरेको हो ।

काठमाडौँ महानगरपालिका स्वास्थ्य सेवा विभागका सिनियर अहेव दमनबहादुर नेगीले चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गरी नि:शुल्क स्वास्थ्य जाँच सुरु गरेको जानकारी दिए । महानगरपालिकाले उक्त कक्षबाट रक्तचाप र मधुमेह परीक्षण, झाडापखालाको औषधि वितरण गरिरहेको सिअहेव नेगीले बताए । उक्त सेवा दसैँभरि सञ्चालन हुने महानगरपालिकाले जनाएको छ ।

उक्त कक्षको आज काठमाडौँ महानगरपालिका-२६ का वडाध्यक्ष ख्यामराज तिवारी र काठमाडौँ महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले शुभारम्भ गरे । नयाँ बसपार्कमा हुने भिडभाड नियन्त्रणका लागि महानगर प्रहरीसमेत परिचालन गरिएको छ । उक्त प्रहरीले भिडभाड नियन्त्रणका साथै यात्रुहरूलाई सहजै रूपमा गन्तव्य स्थलसम्म पुग्नका लागि सहजीकरण गर्नेछ ।

नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पंकज मल्लले नयाँ बसपार्कमा चाडपर्वका लागि घर जाने यात्रुहरू बढेको बताए । उनले अरू समयमा प्रत्येक दिन चारदेखि पाँच हजार यात्रु जाने गरेकामा हाल उक्त सङ्ख्या तेब्बरसम्म पुगेको बताए ।

प्रतिक्रिया दिनुहोस्