Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

सामाजिक सञ्जालको प्रयोगले मौसमको सूचनामा सहजता

१४ आश्विन २०८२, मंगलवार २०:११

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा र बाढी पूर्वानुमान महाशाखाले सामाजिक सञ्जालको प्रयोगमा जोड दिँदा आमनागरिकलाई मौसमी सूचना प्राप्त गर्न सहज भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले ‘नेपाल वेदर फोरकाष्ट’ र बाढी पूर्वानुमान महाशाखाले ‘नेपाल बाढी सूचना’ नामको ‘फेसबुक पेज’ सञ्चालनमा ल्याएको छ । यी दुई सञ्जालमा नियमित रूपमा मौसमी सूचना दिँदा सूचना प्रवाह र प्राप्तिमा सहज भएको हो ।

मौसमी सूचनाका साथै बाढी र वर्षाको अवस्थालगायत अन्य जनचेतनामूलक जानकारीहरू दिने गरिएको छ । नेपाल वेदर फोरकाष्टमा आज आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श भनेर सन्देश दिइएको छ ।

सन्देशमा भनिएको छ, ‘कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू–भागका तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन सबैमा अनुरोध छ ।’

सञ्जालमा मनसुन सक्रिय भएका बेलामा या अन्य बेलामा मनसुनबारे प्राविधिक कुराका साथै कहाँकहाँ पानी पर्छ भनेर शब्द तथा दृश्यमा विवरण राख्ने गरिएको छ । यसले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई निक्कै सजिलो भएको छ ।

बाढी पूर्वानुमान महाशाखाकी हाइड्रोलोजिष्ट इञ्जिनियर जिङ्की भुसालले ‘नेपाल बाढी सूचना’मा पनि त्यसैगरी जानकारीमूलक दृश्य सामग्री राखिएको बताए ।

उक्त दृश्य सन्देशमा भनिएको छ, ‘पानी पर्न थालेपछि आफू नजिकैको खोलामा बाढी आउला कि नआउँला भन्ने चासो तपाईलाई पनि हुनसक्छ । यसका लागि तपाईं आफैँले हाम्रो वेबसाइट र सामाजिक सञ्जाल हेरेर बाढीबारे थाहा पाउन सक्नुहुन्छ ।’

सामाजिक सञ्जालदेखि बाढीको अवस्थाबारे सबैले बुझ्ने गरी सूचना राखिएको उनले उल्लेख गरे । युट्युव, टिकटक र ट्विटरमा पनि यसैगरी सूचना राख्ने गरिएको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले बताए । यसरी नियमित रूपमा सामाजिक सञ्जालबाट सूचना प्रवाह भइरहेको उनले जानकारी दिए ।

पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन सामाजिक सञ्जाल निक्कै प्रभावकारी भएको विभागको निष्कर्ष छ । यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सामाजिक सञ्जालको उपयोग गरिरहेको छ ।

विभागलगायत निकायले अन्य सन्देशमूलक सूचना शेयर गर्नुका साथै आफ्ना सूचना तथा जानकारीसमेत सम्प्रेषण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्