Trending
राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान     |     आदिवासी कथा र संस्कृतिको अन्तर्राष्ट्रिय उत्सव : दोस्रो एनआईएफएफमा सिक्किमका मन्त्रीदेखि नेपाली कलाकारसम्म     |     विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |    
समाचार

उपत्यकाका ११ स्थानमा ‘रेकर्ड ब्रेक’ वर्षा

१४ आश्विन २०८१, सोमबार ०२:५९

१४ असोज,काठमाडौँ। काठमाडौँ उपत्यकाका ११ स्थानमा हालसम्मकै रेकर्ड ब्रेक गर्ने वर्षा भएका कारण ठूलो जनधनको क्षति हुन पुगेको जल तथा मौसम विभागले सार्वजनिक गरेको विवरणबाट पुष्टि भएको छ ।

विभागले आइतबार अबेर सार्वजनिक गरेको विवरणअनुसार यही असोज १२ गते (२४ घण्टासम्म) सङ्घीय राजधानी काठमाडौँका विभिन्न जलमापन केन्द्रहरुले रेकर्ड गरेको तथ्याङ्कअनुसार  हालसम्मकै धेरै पानी परेको उल्लेख छ ।

विभागका महानिर्देशक जगदीश्वरमान कर्माचार्यका अनुसार वर्षाको विवरण राख्ने क्रम सुरु भएपछिको सबैभन्दा धेरै वर्षा मापन भएको हो । नेपालमा वर्षामापनको विवरण राख्न थालिएको ५४ वर्ष भयो । विभागका अनुसार, काठमाडौँको पानीपोखरीमा २०६.६ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ ।

काठमाडौँ विमानस्थलको वर्षामापन केन्द्रले २३९.७ मिलिमिटर वर्षा भएको जनाएको छ । बुढानिलकण्ठमा १७८.३ मिलिमिटर, जितपुरफेदीमा १७८.३ मिलिमिटर, नागार्जुनमा २०५.४ मिलिमिटर वर्षा भएको मापन गरिएको छ ।

त्यसैगरी ललितपुरको गोदावरी, खुमलटार, टिकाथली, खोकना, चापागाउँ वर्षामापन केन्द्रले पनि रेकर्ड ब्रेक गर्ने वर्षा भएको मापन गरेको छ । भक्तपुरको नखेलमा वर्षामापन केन्द्रले १९४.५ मिलिमिटर वर्षा भएको मापन गरेको छ ।

ललितपुरको गोदावरीमा ३११.६, खुमलटारमा २९४.४ मिलिमिटर, टिकाथलीमा २६४ मिलिमिटर वर्षा हुँदा खोकनामा २९७.३ मिलिमिटर र चापागाउँमा ३२३.५ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ । औसतमा २४ घण्टामा के कति मात्रामा पानी पर्‍यो भन्ने आधारमा हिसाब निकालिने गरिएको छ । काठमाडौँ उपत्यकामा मात्रै १७ स्थानमा वर्षामापन केन्द्र छन् । ती केन्द्रले विवरण रेकर्ड गर्छन् ।

असोज १२ गतेको २४ घण्टाको विवरण हेर्दा १४ जिल्लाका २५ स्थानमा सबैभन्दा बढी पानी परेको छ । विभागका अनुसार सबैभन्दा बढी वर्षा मकवानपुरको दामनमा ४१० मिलिमिटर मापन गरिएको छ । यस्तै काभ्रेपलाञ्चोकको खोपासी मापन केन्द्रमा ३३१.६ मिलिमिटर वर्षा मापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्