Trending
रुपन्देही–३ उपनिर्वाचनमा रास्वपाको उम्मेदवार डा. लेखजंग थापा     |     पेट्रोलियम पदार्थको मूल्य घट्यो     |     चौथो खेलमा नेपाल ए आसामसँग पराजित     |     नेपालले भुटानसँग बराबरी गर्दै साफ यू–१७ च्याम्पियनसिप तेस्रो बनायो     |     चीन भ्रमणमा प्रधानमन्त्री ओली : तियानजिनमा धान क्षेत्र अवलोकन     |     कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान     |     यस्तो छ विदेशी मुद्राको विनिमय दर     |     सुदूरपश्चिममा गौरापर्व : आज मुख्य दिन अठ्यावाली     |     “दृश्यमा नेपाल” अभियानअन्तर्गत “तिम्रो साथमा” भिडियोले कोशी पर्यटन वर्षलाई टेवा     |     भारतले जित्यो साफ यू–१७ महिला च्याम्पियनसिपको उपाधि     |    
समाचार

उपत्यकाका ११ स्थानमा ‘रेकर्ड ब्रेक’ वर्षा

१४ आश्विन २०८१, सोमबार ०२:५९

१४ असोज,काठमाडौँ। काठमाडौँ उपत्यकाका ११ स्थानमा हालसम्मकै रेकर्ड ब्रेक गर्ने वर्षा भएका कारण ठूलो जनधनको क्षति हुन पुगेको जल तथा मौसम विभागले सार्वजनिक गरेको विवरणबाट पुष्टि भएको छ ।

विभागले आइतबार अबेर सार्वजनिक गरेको विवरणअनुसार यही असोज १२ गते (२४ घण्टासम्म) सङ्घीय राजधानी काठमाडौँका विभिन्न जलमापन केन्द्रहरुले रेकर्ड गरेको तथ्याङ्कअनुसार  हालसम्मकै धेरै पानी परेको उल्लेख छ ।

विभागका महानिर्देशक जगदीश्वरमान कर्माचार्यका अनुसार वर्षाको विवरण राख्ने क्रम सुरु भएपछिको सबैभन्दा धेरै वर्षा मापन भएको हो । नेपालमा वर्षामापनको विवरण राख्न थालिएको ५४ वर्ष भयो । विभागका अनुसार, काठमाडौँको पानीपोखरीमा २०६.६ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ ।

काठमाडौँ विमानस्थलको वर्षामापन केन्द्रले २३९.७ मिलिमिटर वर्षा भएको जनाएको छ । बुढानिलकण्ठमा १७८.३ मिलिमिटर, जितपुरफेदीमा १७८.३ मिलिमिटर, नागार्जुनमा २०५.४ मिलिमिटर वर्षा भएको मापन गरिएको छ ।

त्यसैगरी ललितपुरको गोदावरी, खुमलटार, टिकाथली, खोकना, चापागाउँ वर्षामापन केन्द्रले पनि रेकर्ड ब्रेक गर्ने वर्षा भएको मापन गरेको छ । भक्तपुरको नखेलमा वर्षामापन केन्द्रले १९४.५ मिलिमिटर वर्षा भएको मापन गरेको छ ।

ललितपुरको गोदावरीमा ३११.६, खुमलटारमा २९४.४ मिलिमिटर, टिकाथलीमा २६४ मिलिमिटर वर्षा हुँदा खोकनामा २९७.३ मिलिमिटर र चापागाउँमा ३२३.५ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ । औसतमा २४ घण्टामा के कति मात्रामा पानी पर्‍यो भन्ने आधारमा हिसाब निकालिने गरिएको छ । काठमाडौँ उपत्यकामा मात्रै १७ स्थानमा वर्षामापन केन्द्र छन् । ती केन्द्रले विवरण रेकर्ड गर्छन् ।

असोज १२ गतेको २४ घण्टाको विवरण हेर्दा १४ जिल्लाका २५ स्थानमा सबैभन्दा बढी पानी परेको छ । विभागका अनुसार सबैभन्दा बढी वर्षा मकवानपुरको दामनमा ४१० मिलिमिटर मापन गरिएको छ । यस्तै काभ्रेपलाञ्चोकको खोपासी मापन केन्द्रमा ३३१.६ मिलिमिटर वर्षा मापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्