काठमाडौँ। प्यालेस्टाइनी विद्रोही समूह हमासले नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भइसकेको पुष्टि गरेको छ । जोशीको शव आजै बुझाइने हमासले जानकारी दिएको छ ।
गाजामा इजरायली सेनाको आक्रमणमा परी विपिनको मृत्यु भएको पनि हमासले दाबी गरेको छ । विपिनसँगै आज चार जना बन्धकको शव इजरायललाई बुझाइने जनाइएको छ । फिर्ता गरिने चार बन्धकका शवमा जोशीसहित इजरायली नागरिक गाई इलोज, योसी शाराबी र ड्यानियल पेरेट्ज छन् ।
आजै हमासले २० जना जीवित बन्धक इजरायललाई हस्तान्तरण गरेको थियो । ७ अक्टुबर सन् २०२३ मा हमासले इजरायलमाथि आक्रमण गर्ने क्रममा विपिन अपहरणमा परेका थिए ।
त्यसयता उनी घाइते अवस्थामा एकपटक अस्पतालमा देखिएको दाबी गरिएको थियो । केही दिनअघि मात्रै विपिनको एक भिडियो सार्वजनिक भएको थियो, जुन हमासले उनलाई अपहरण गरेको केही दिनपछि रेकर्ड गरेको थियो ।