Trending
चलचित्र ‘कुमारी’को प्रेमको न्यानोपन बोकेको नयाँ पोस्टर सार्वजनिक     |     सन्दीप लामिछानेले बीपीएल खेल्ने     |     साफ महिला क्लब च्याम्पियनसिप फुटबलः नेपालको एपिएफ क्लब विजयी     |     पदक विजेता चन्द्र स्वदेश फिर्ता     |     निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो     |     यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर     |     एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’     |     लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि     |     एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य     |     एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा     |    
समाचार

विपीन जोशी : गाजामा मारिए, महाकालीमा बिलाए

५ कार्तिक २०८२, मंगलवार १४:०६

महेन्द्रनगर। यदि विपीन जोशी जीवित भएका भए अहिले उनको परिवार मात्र हैन, पुरै देश उनको रिहाइको खुसीयालीमा हुने थियो । उनलाई विमानस्थलदेखि घरसम्म स्वागत गर्नेको लर्को देखिन्थ्यो होला ।

दुईवर्षदेखि विपीनको सकुशल रिहाइको प्रतीक्षामा बसेका नेपालीले जब एक साताअघि मात्रै उनी जीवित नरहेको खबर प्राप्त गरे । त्यसपछि परिवारसहित सिङ्गो देश शोकमा डुब्यो । हमासले बन्धक बनाएको अवधिमै गाजामा मृत्यु भएका कञ्चनपुरका विपिन जोशीको आज बिहान महाकाली नदीस्थित भुजेला घाटमा अन्त्येष्टि गरियो ।

जोशीको पार्थिव शरीरमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरे । त्यसपछि सशस्त्र प्रहरी बलको एक टुकडीले विपिनलाई सलामी अर्पण गर्‍यो ।

इजरायलले उल्लेख गरेको ‘फरेन्सिक रिपोर्ट’ अनुसार इजरायल- हमास युद्धमा हमासले बन्धक बनाएर टाउकोमा गोली हानी विपीनको हत्या गरिएको जनाइएको छ । विपिन जीवित नरहेकोबारे जानकारी गत असोजको अन्तिम साता मात्रै हमासले सार्वजनिक गरेको थियो ।

कृषि विज्ञानतर्फ स्नातक तहको अध्ययनका सिलसिलामा विपीनलगायतका नेपाली विद्यार्थीको टोली इजरायल पुगेका थिए । सोही क्रममा हमासको आक्रमणसँगै विपिनलाई हमासले अपहरण गरी लगेका थिए ।

विपिनको खोजीका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा दबाब बढाइए पनि अन्ततः विपिन जीवित नभएको हमासले बताएको थियो ।

विभिन्न प्रक्रिया पुरा गरी सोमबार दिउँसो काठमाडौँ ल्याइएको विपिनको शव साँझ अबेरमा महेन्द्रनगरस्थित घरमा पुर्‍याइएको थियो । भुजेलाघाटमा बुवा महानन्द जोशी र ठुलोबुवा रामदत्त जोशीले दागबत्ती दिए ।

नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासले भुजेलाघाटमै पुगेर इजरायली राष्ट्रपतिको शोक सन्देश सुनाउँदै इजरायली झण्डा विपिनको शवमा ओढाए ।

राजदूत नेतृत्वको टोली शवसँगै काठमाडौँबाट विपिनको अन्त्येष्टीसम्म सहभागी भयो । विपिनको काजक्रिया ठुलाबुवा रामदत्त जोशीले गरिरहेको परिवारजनको भनाइ छ ।

शवयात्रामा जनप्रतिनिधि, इजरायली राजदूतसहितको टोली, विपिनका इष्टमित्र, आफन्तजन र सर्वसाधारणको उल्लेख्य सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्