Trending
अपहरणमा परेकी महिलाको सकुशल उद्धार, एक युवती पक्राउ     |     गगन थापा र चौथाइवालेबिच भेटवार्ता     |     जलवायु न्यायका लागि संवेदनशील बन्न उपप्रधानमन्त्री पौडेलको विश्व समुदायलाई आग्रह     |     निर्माणाधीन घरको छतबाट लडेर मजदुरको मृत्यु     |     नेपालमा लगानीका लागि विश्व समुदायलाई अध्यक्ष ढकालको आग्रह     |     सरकारले विकासका कामलाई तीव्रता दिनुपर्छ : नेता कोइराला     |     बाढीले क्षति गरेको नख्खु खोलाको पानी वितरण गरिने     |     वरदान बन्दै त्रिविको अनलाइन कक्षा     |     सीआईबी प्रमुख एआईजी थापाको तस्बिर राखेर धम्की दिने खड्का पक्राउ     |     अमेरिका गएका अध्यक्ष नौ महिनासम्म नफर्केपछि वडा कार्यालयमा तालाबन्दी     |    
समाचार

परम्परागत बालीको ‘पकेट’ क्षेत्र बनाउन सहकारीद्वारा कृषि उपज बीउ सङ्कलन

१५ आश्विन २०८१, मंगलवार ०८:२२

१५ असोज, बाजुरा। बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकामा रहेको एक सहकारी संस्थाले कृषि उपज बीउ सङ्कलन सञ्चालनमा ल्याएको छ ।

परम्परागत बालीको पकेट क्षेत्र बनाउने गरी सहकारीले किसानले लगाएका दलहनबाली खरिद गरेर बजार क्षेत्रमा पुर्‍याउने गरेको छ । २०७६ सालमा स्थापना भएको सामुदायिक बीउ बैंक तथा कृषि सहकारी संस्थाले बीउ बैंक स्थापना गरी रैथाने बाली सङ्कलन गर्दै आएको हो । बीउ बैंक स्थापनाका लागि सहकारीले बचत सुरु गरेको छ ।

सामान्य बचत मात्रैले स्वामिकार्तिकका किसानलाई सहयोग नपुग्ने भएपछि सहकारीले बचतबाट जम्मा भएको रु १० लाख पुँजीले पालिकामा उत्पादन भएका स्याउ किसानकै बारीमा पुगेर खरिद गरी जिल्लाका विभिन्न बजार र नेपालगञ्ज, धनगढी, सुर्खेत, काठमाडौँलगायतका सहर पुर्‍याएर बिक्री गर्ने गरेको छ ।

सामुदायिक बीउ बैंक तथा कृषि सहकारीले गाउँपालिकाको कृषि विकास शाखासँग पनि सहकार्य गरेको छ । पालिकासँगको सहकार्यमा जलवायु अनुकूलन कृषि खेती तथा परम्परागत बालीको संरक्षण र सम्वर्द्धन गरिरहेको छ । उक्त सहकारीको बीउ बैंक तथा सङ्कलन केन्द्र स्थापनाका लागि स्याउ खेती, परम्परागत बाली बजारीकरणमा ढुवानी अनुदान दिइएको छ । सहकारीका सदस्यलाई चार वटा कृषि समूहमा विभाजन गरेर किसानलाई कृषि प्राविधिक परामर्श, प्लास्टिक टनेल, थोपा सिँचाइ, आवश्यक बीउ, हजारी, झोल मलका लागि ड्रम, पाइप, स्प्रे, पाशा, गुमोज प्लास्टिक गाउँपालिकाले सहयोग गरेको छ ।

बीउ बैंक तथा सङ्कलन केन्द्रका लागि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय र स्वामीकार्तिक खापर गाउँपालिकाले ३० लाख सहयोग गरेको छ ।  बीउ बैंक तथा सङ्कलन केन्द्र स्थापनाका लागि गाउँपालिकाको सहयोगले थप मद्दत पुगेको सहकारीका व्यवस्थापक मनवीर ल्वारले बताए ।

सहकारीको भवन निर्माण भएपछि एक गैर सरकारी संस्थाले रैथाने बाली प्रशोधन, ग्रेडिङ, प्याकिङ मेसिन, सङ्कलित बीउ राख्ने ट्याङ्की पनि सहयोग गरेको छ । बीउ बैंकमा अहिले जुनसुकै बेला कोदो, जौ, उवा, फापर, मार्से, कागुनो, सिमी, चिनो, मकै, धान, जुम्ली मार्सी धान लगायतको बीउ पाइने सहकारीका व्यवस्थापक ल्वारले बताए । गाउँपालिकामा पाँच जनालाई ज्याला दिएर बीउ सङ्कलनकर्ताका रूपमा नियुक्त गरिएको छ ।

सङ्कलनकर्ताले किसानको घरमै गएर परम्परागत बाली खरिद गर्दै उक्त बाली बीउ बैंक तथा सङ्कलन केन्द्रमा पुर्‍याउने गरेका छन् । बीउ वितरण गरेर बढी भएको बाली जिल्ला बाहिर पनि ढुवानी अनुदानमा सहकारीले बिक्री गर्ने गरेको छ । सहकारीले सञ्चालनमा ल्याएको बीउ बैंकबाट  चालु आर्थिक वर्षमा मात्रै दुई ट्रक कोदो, दुई क्वीन्टल जौ, चिनो, कागुनो खरिद गरेर बिक्री गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्