Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |    
समाचार

पर्वतका अवरुद्ध ग्रामीण सडक मर्मत सुरु

१५ आश्विन २०८१, मंगलवार ०८:३२

१५ असोज,पर्वत। बडादसैँ लगायतका चाडपर्व नजिकिँदै गएपछि यहाँका स्थानीय तहहरूले अवरुद्ध सडक मर्मत गर्न थालेका छन् । जिल्लाका सातै स्थानीय तहले ग्रामीण सडक सुचारु गर्न उपभोक्ता समिति गठन गरी काम थालेका हुन् ।

यहाँको जलजला गाउँपालिकाले कार्यतालिका बनाएर सबै वडामा अवरुद्ध ग्रामीण सडक मर्मत गर्न थालेको गाउँपालिका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए । पालिकाले आफ्नै डोजर परिचालन गरेको उपाध्यक्ष आचार्यले बताए । तीन/चार दिनमा सबै सडक सफा गरिसक्ने उनको भनाई छ ।

पैँयु गाउँकार्यपालिकाको बैठकले पनि वर्षायाममा अवरुद्ध सबै सडक मर्मत गरेर सुचारु गर्ने निर्णय गरेको छ । उपभोक्ता समिति र ठेकेदार मार्फत सञ्चालित आयोजनाहरू तत्काल मर्मत गर्न लगाइएको गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिए । उनका अनुसार घटस्थापना अघि नै सबै सडक सुचारु गर्ने तयारी छ ।

विहादी गाउँपालिकाले अवरुद्ध ग्रामीण सडक खुलाउन सोमबार सूचना जारी गर्दै सडक सरसफाइ अघि बढाउन उपभोक्ता समितिहरूलाई आग्रह गरेको छ । उपभोक्ता समिति मार्फत सडक सफाइ गरिने भएकाले मातहतका सबै वडा र टोलहरूमा उपभोक्ता समिति गठन तथा नवीकरण गरी सम्झौता गर्न आउन वडा कार्यालयहरूलाई पत्राचार गरेको हो । दसैँ अघि सडक सञ्चालनमा ल्याइने अध्यक्ष परवीन गुरुङले बताए ।

महाशिला गाउँपालिकाले सडक खुलाउन डोजर लगाउन थालेको छ । लुङ्खु–बालाकोट–होश्राङदी, लुंखु–चिसापानी–भोक्सिङ, पाखापानी–भोर्लेलगायतका सडक केही दिनमै सुचारु हुने महाशिला गाउँपालिका अध्यक्ष ईश्वरी भुसालले बताए ।

मोदी गाउँपालिका, फलेवास नगरपालिका र कुश्मा नगरपालिकाले पनि ग्रामीण सडक खुलाउन काम सुरु गरेका छन् । फलेवासले नगरपालिकाकै दुईवटा डोजर परिचालन गरेको नगरप्रमुख गंगाधर तिवारीले जानकारी दिए ।

पर्वत यातायात प्रालिका सञ्चालक हेमशर्मा पौडेलले वर्षायाममा अवरुद्ध सडक खुलाउन स्थानीय तहहरूलाई अनुरोध गरिएको बताए । अब मनसुन सकिएकाले मर्मत गरेपछि सडकमा सवारी गुडाउन सहज हुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्