मेक्सिको सिटी। मेक्सिको प्रहरीका अनुसार मेक्सिको सिटीमा सरकारविरोधी प्रदर्शनका क्रममा झडपमा भएको छ। झडपमा परेर १२० जनाभन्दा बढी घाइते भएको बीबीसीले समाचारमा उल्लेख गरेको छ। बीबीसीका अनुसार घाइतेमध्ये १०० जना प्रहरी अधिकारी पनि छन्।
प्रदर्शनकारीहरूले शनिबार मेक्सिकोको राजधानीमा हिंसात्मक अपराध र राष्ट्रपति क्लाउडिया शेनबाउमको सरकारविरुद्ध प्रदर्शन गरे। जेन-जीहरुले अन्य सहरमा पनि विरोध प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीहरूले शेनबाउम बस्ने राष्ट्रिय दरबारको सुरक्षा ब्यारेकको केही भाग भत्काइदिएका थिए। परिसरको सुरक्षा गरिरहेका प्रहरीले भिडविरुद्ध अश्रुग्यास प्रहार गरेका थिए।
मेक्सिको सिटीका सुरक्षा प्रमुख पाब्लो भाज्क्वेजले पत्रकारहरूलाई भनेका छन्- प्रहरी अधिकारीहरुले डकैती र आक्रमणलगायत विभिन्न अपराधका लागि २० जनालाई पक्राउ गरेका छन्।
राष्ट्रपति शेनबाउमले मार्चलाई उनको सरकारको विरोध गर्ने दक्षिणपन्थी नेताहरूद्वारा रकम (घुस) दिएर प्रदर्शन गर्न पठाएको आरोप लगाएका थिए।
प्रदर्शनसहितको र्याली जेन-जी युवा समूहद्वारा आयोजना गरिएको थियो। उरुपानका मेयर कार्लोस मान्जोको सहित उच्च-व्यक्तित्वहरुको हत्याको विरोधमा प्रदर्शनको सुरुआत गरिएको थियो। १ नोभेम्बरमा डे अफ द डेड फेस्टिबलमा मान्जोको गोली हानी हत्या गरिएको थियो। रासस