Trending
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा देशवासीका नाममा सम्बोधन     |     प्रधानमन्त्री बालेन शाह शीतल निवासमा     |     विश्वकप क्रिकेट लिग–२ः नेदरल्यान्ड्सद्वारा नेपाललाई २२६ रनको लक्ष्य     |     सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन     |     रास्वपा वरिष्ठ नेतामा बालेन शाह मनोनीत     |     मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित     |     कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा पदभार ग्रहण     |     महिला कबड्डी टोलीले पनि एसियाडको तयारी भारतमै गर्ने     |     सिड्नीमा ‘मालती मंगले’को ओभरफ्लो शो, सांगीतिक माहोलमा गुन्जिए रामकृष्ण ढकाल     |     चलचित्र ‘पञ्चमी’ निर्माणको घोषणा     |    
समाचार

कर्णाली प्रदेशका अस्पतालमा अझै चिकित्सक पाउनै कठिन

२ मंसिर २०८२, सोमबार ०८:२२

कर्णाली । कर्णाली प्रदेश अस्पताल सुर्खेतको सेवा प्रवाह, संरचना र जनशक्ति व्यवस्थापनबारे कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिमा आइतबार छलफल भएको छ ।

सुर्खेत वीरेन्द्रनगरमा बसेको बैठकमा प्रदेश सरकारसहित सरोकारवालासँग छलफल भएको हो । गत कात्तिक २२ गते समितिको बैठकले सरोकारवालालाई आमन्त्रण गर्ने निर्णय गरे बमोजिम बैठक बसेको थियो । सो बैठकमा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले अस्पतालका लागि विशेषज्ञ चिकित्सक पाउन मुस्किल भएको बताए ।

सरकारले चाहेर मात्रै पनि सुविधालाई बढवा दिन नसकिएको भन्दै मन्त्री भण्डारीले कर्णालीको भूगोल र वास्तविकतालाई आकलन गर्दा विशेषज्ञ चिकित्सक कर्णाली आउन नमान्ने अवस्था विद्यमान रहेको जनाए । उनले भने, “सरकारले गाउँगाउँमै चिकित्सक पठाउने गरी छात्रवृत्ति दिने र करारकालाई स्थानीय तहसम्म परिचालन गरे पनि मेडिकल अधिकृतभन्दा माथिल्लो तहको चिकित्सक पाउन जटिल छ ।”

उनका अनुसार स्वास्थ्य क्षेत्र अहिले प्राथमिकतामा पर्न सकेको छैन । कोभिड पछिका दिनमा बजेट स्रोत घटिरहेको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेले जनशक्ति अभाव र व्यवस्थापनमै कमजोरी भएको स्वीकारे ।

प्रदेश सरकारद्वारा स्वीकृत १५० शय्या भए पनि हाल ३०० शैय्या बराबरको सुविधा उपलब्ध गराउनु परेको र विशेषज्ञ सेवा करिब ९१ जनाले प्रदान गरेतापनि जनशक्ति व्यवस्थापनका लागि बजेट पर्याप्त नभएको उनको भनाइ थियो ।

प्रदेश अस्पतालका निर्देशक डा गणेश थापाले विशेषज्ञ चिकित्सकको अभावले ३७ जना आवश्यक जनशक्तिमा हाल १९ जनाबाट मात्र सेवा प्रवाह भइरहेको जानकारी दिए । उनले चार/पाँच हजार केभिए विद्युत् आवश्यक हुँदा पनि एक हजार केभिए क्षमताको लोड प्राप्त भएको आवश्यकताअनुसार विद्युत् आपूर्ति हुन नसकेको गुनासो गरे ।

समितिका सभापति पूर्णबहादुर खत्रीले बैठकमा प्रदेश अस्पतालमा कार्यरत जनशक्तिको पदपूर्तिको अवस्था, कार्यदक्षता, सेवा प्रवाहमा हुने ढिलासुस्तीका कारण, सुधारका विषयका सम्बन्धमा छलफल भएको जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्