Trending
पोखरालाई विराटनगरको ऐतिहासिक लक्ष्य, तोड्यो आफ्नै रेकर्ड     |     विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने     |     चितवन राइनोजसँग कर्णाली याक्स पराजित     |     प्रधानमन्त्री कार्कीसँग कांग्रेसका युवा नेताहरुको भेट     |     जेनजी प्रदर्शनका क्रममा तोडफोडमा संलग्न थप पाँच पक्राउ     |     लमजुङ सेवा समिती हङकङद्वारा पहिलो भलिबल प्रतियोगिता सम्पन्न     |     मौलाकाली केबलकार पुनःसञ्चालनमा     |     कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य     |     आज चितवन राइनोज र कर्णाली याक्स तथा विराटनगर किङ्स र पोखरा एभेन्जर्स भिड्दै     |     सुनको मूल्य घट्यो     |    
समाचार

जेनजी प्रदर्शनका क्रममा तोडफोडमा संलग्न थप पाँच पक्राउ

३ मंसिर २०८२, मंगलवार १५:१४

काभ्रेपलाञ्चोक। जेन जेड प्रदर्शनका क्रममा जिल्लाका विभिन्न संरचनामा आगजनी, तोडफोड र लुटपाटमा संलग्न थप पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लास्थित विभिन्न सरकारी संरचना, प्रहरी कार्यालय भवन तथा सम्पत्तिमाथि तोडफोड, आगजनी र लुटपाटमा संलग्न पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–३ का २१ वर्षीय अजय तामाङ, खानीखोला गाउँपालिका–१ का २१ वर्षीय विशाल भोलन, बनेपा नपा–३ का २२ वर्षीय रवीन्द्र परियार र वडा नं ८ का १९ वर्षीय अभि सुधाकार तथा दोलखाको जिरी नपा–१ का २७ वर्षीय भीम तामाङ रहेको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए।

उनका अनुसार पक्राउ परेकामध्ये भोलनविरुद्ध इलाका प्रहरी कार्यालय बनेपामा २०८१ मा लागुऔषध मुद्दा दर्ता भएको छ भने सुधाकारविरुद्ध २०७९ मा सवारी ज्यान मुद्दा दर्ता भएको थियो । पक्राउ परेकाको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि जेन जेड आन्दोलनका क्रममा जिल्लामा विभिन्न सरकारी तथा निजी भवन र सम्पत्तिमाथि आगजनी, तोडफोड र लुटपाटमा संलग्न थप १२ जनालाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरेको थियो ।

जिल्लाका विभिन्न स्थानमा आगजनी र लुटपाटमा संलग्नविरुद्ध कार्यालयमा परेको उजुरीका आधारमा घटनाको अनुसन्धानसँगै आन्दोलनका क्रममा आपराधिक घटनामा संलग्नको खोजी भइरहेको कार्यालयले जनाएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले कार्यालयमा छवटा निजी संरचनामा भएको क्षतिबारे उजुरी परेपछि विशेष अनुसन्धान सुरु गरिएको बताएका छन् ।

कार्यालयले आफ्नो मातहतको इलाका प्रहरी कार्यालय बनेपा तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न ११ लाई भने पक्राउ गरी कारबाहीसहित थप अनुसन्धान गरिरहेको जनाएको छ । प्रदर्शनका क्रममा काभ्रेपलाञ्चोकमा विभिन्न १८ वटा सरकारी तथा निजी संरचनामा ठूलो क्षति पुर्‍याइएको थियो ।

यसअघि जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका थप ५३ कैदीबन्दीलाई प्रहरीले काभ्रेपलाञ्चोकबाट विभिन्न मितिमा पक्राउ गरी कार्यालयले जिल्ला कारागार धुलिखेलमार्फत सम्बन्धित कार्यालय पठाएको जनाएको छ ।

यसैबीच प्रहरीले चालु आर्थिक वर्षको चार महिनामा ५३ जना कैद तथा जरिवना तोकिएका व्यक्तिलाई पक्राउ गरेको छ । अदालतले फैसला कार्यान्वयनका लागि पठाएका करिब छ सय व्यक्तिको सूचीका आधारमा ५३ जना पक्राउ गरिएको कार्यालयले जनाएको छ । विष्टका अनुसार कात्तिक मसान्तसम्म ५३ जना व्यक्ति पक्राउ गरी उनीहरूबाट १२ वर्ष आठ महिना सात दिन कैद र रु दुई करोड ६७ लाख ५९ हजार ९०० जरिवना असुल भएको छ ।

अदालतले प्रहरीलाई दिएको सूचीका आधारमा विभिन्न अपराधमा कैद तथा सजाय तोकिएका अझै पाँच सय ४३ जना कैद तोकिएका व्यक्ति अझै फरार रहेको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्