काठमाडौं। रवी बोपाराको अलराउन्ड प्रदर्शनसँगै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा रोमाञ्चक जित हात पारेको छ।
मंगलबार सम्पन्न खेलमा चितवनले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो। कर्णालीले दिएको १६७ रनको लक्ष्य चितवनले ५ बल बाँकी रहँदा १७१ रन बनायो। योसँगै चितवनले २ अंक जोडेको छ।
चितवनका रवीले सर्वाधिक ५२ रन बनाए। ३६ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे। जारी प्रतियोगितामा यो तेस्रो अर्धशतक हो। यसअघि जनकपुर बोल्ट्सका ओपनर आसिफ शेख र यही खेलमा कर्णालीका प्रियांक पाञ्चालले अर्धशतक प्रहार गरेका थिए।
युवा ओपनर दीपक बोहराले ३६ बलमा ६ चौका र १ छक्कासहित ४२ रनको योगदान दिए। सैफ जैब ३८ र कप्तान कुशल मल्ल २० रनमा आउट हुँदा अर्जुन साउद ८ रनमा अविजित रहे।
कर्णालीका सोमपाल कामीले सर्वाधिक २ विकेट लिए। युनिस सिंह, मार्क वार्ट र युवराज खत्रीको नाममा समान १ विकेट रह्यो।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६६ रन बनाएको थियो।
कर्णालीका प्रियांक डेब्यु खेलमा शतकनजिक पुगेर चुके। ४८ बल खेलेका ओपनरले ७ चौका र ६ छक्कासहित ९० रन बनाए। जारी प्रतियोगितामा यो दोस्रो अर्धशतक हो। यसअघि उद्घाटन खेलमा काठमान्डु गोर्खाजविरुद्ध साबिक विजेता जनकपुर बोल्ट्सका ओपनर आसिफ शेखले पहिलो अर्धशतक बनाएका थिए।
म्याक्स ओ’ डाउड २० र मार्क वार्ट १६ रनमा आउट हुँदा पवन सर्राफले २७ र नजिबुल्लाह जद्रानले अविजित रहँदै ४ रन थपे। चितवनका सैफ जैब, सोहेल तान्भिर र रवी बोपाराले समान १ विकेट हात पारे।