Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |    
समाचार

वैकल्पिक मार्गबाट दिक्तेल–काठमाडौँ बस सेवा

१६ आश्विन २०८१, बुधबार ००:५७

१६ असोज,खोटाङ। खोटाङ यातायात प्रालिले तत्कालका लागि दिक्तेलबाट घुर्मी–सिन्धुली–बर्दिवास–हेटौँडा हुँदै काठमाडौँसम्मको नियमित बस सेवा सञ्चालन गर्ने भएको छ ।

दसैँको पूर्वसन्ध्यामा बाढीपहिरोले मध्यपहाडी लोकमार्गअन्तर्गतको दिक्तेल–घुर्मी–खुर्कोट हुँदै काठमाडौँ आवतजावत गर्ने सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गका रुपमा असोज–१६ गतेदेखि दिक्तेलबाट घुर्मी–सिन्धुली–बर्दिबास–हेटौँडा हुँदै काठमाडौँसम्मको बस सेवा सञ्चालन हुने भएको हो ।

क्षतिग्रस्त सडक तत्काल सञ्चालनमा आउने सम्भावना नदेखिएपछि वैकल्पिक रूपमा दिक्तेलबाट घुर्मी–सिन्धुली–बर्दिवास–हेटौँडा हुँदै काठमाडौँसम्मको बस सेवा सञ्चालन गर्ने निर्णय गरिएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्‌माङले जानकारी दिए ।

‘केही दिनअघिको भीषण वर्षाका कारण बाढी तथा पहिरो जाँदा मध्यपहाडी लोकमार्गमा पर्ने सडकखण्डको विभिन्न ठाउँमा ठूलो क्षति पुगेको छ । दसैँअघि दिक्तेल–घुर्मी–खुर्कोट सडक पुनःसञ्चालनमा आउने सम्भावना छैन,’ उनले भने, ‘सडक अवरुद्धका कारण दसैँ तथा तिहार मान्न घर फर्कने हजारौँ यात्रु काठमाडौँमा रोकिएका छन् । उनीहरुको सुविधाका लागि वैकल्पिक मार्गमा काठमाडौँसम्म बस सेवा सञ्चालन गर्ने निर्णय गरिएको हो ।,’

दिक्तेलबाट काठमाडौँ तथा काठमाडौँदेखि दिक्तेलसम्मको एकतर्फी भाडाप्रति व्यक्ति रु दुई हजार पाँच सय तोकिएको खोटाङ यातायात प्रालिले जनाएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट घुर्मी–सिन्धुली–बर्दिवास–हेटौँडा हुँदै काठमाडौँ पुग्नका लागि दिक्तेल–घुर्मी–खुर्कोट–काठमाडौँभन्दा दोब्बर लामो हुने जनाइएको छ ।

लामो दूरी भए पनि चाड मान्न घर फर्कने यात्रुहरुको बाध्यतालाई मध्यनजर गरेर खोटाङ यातायात प्रालिले दिक्तेल–घुर्मी–सिन्धुली–बर्दिबास–हेटौँडा हुँदै काठमाडौँसम्मको बस सेवा सञ्चालन गर्ने भएपछि राहत मिल्ने अनुमान गरिएको छ ।

सगरमाथा राष्ट्रिय राजमार्ग अन्तर्गत खोटाङबाट पूर्वी तराईका जिल्ला जोड्ने दिक्तेल–गाईघाट सडक भने, दसैँ, तिहार तथा छठ पर्वअघि सञ्चालन नहुने निश्चित भएको छ । यही असोज–१२ गते शनिबार दिउँसो आएको बाढीले सुनकोसीस्थित फोक्सिङटारको मोटरेबल पक्की पुल बगाएपछि दिक्तेल–गाईघाट सडकखण्ड भएर पूर्वी तराई जोड्ने यातायात सेवा पूर्ण रुपमा अवरुद्ध भएको हो ।

बाढी तथा पहिरोका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गअन्तर्गतकै दिक्तेल–जयरामघाट सडकखण्डको अवरोध भने हटाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवा र महादेवस्थान बर्खेटारको पहिरो हटाइएपछि सोमबार साँझदेखि दिक्तेल–कटारी–बिराटनगर यातायात सञ्चालनमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्