Trending
जेनजी हत्यारा, भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै वीरगंजमा जेनजीद्धारा मोटरसाईकल र्याली     |     एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक     |     अन्डर-१९ एसिया कपमा भारतले रच्यो इतिहास     |     एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने     |     आइबिए पुरुष विश्व बक्सिङ प्रतियोगितामा बक्सर चन्द्रलाई काँस्य     |     नेपाल टूरिजम फेस्टिभलको दोस्रो संस्करण काठमाडौँमा     |     काठमाण्डुलाई चार विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा     |     काठमाण्डुद्वारा लुम्बिनीसामु सामान्य लक्ष्य     |     एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै     |     ‘गोबर गणेश’को पोस्टरमा प्रशन्न मरिचमान र वर्षा     |    
समाचार

जेनजी हत्यारा, भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै वीरगंजमा जेनजीद्धारा मोटरसाईकल र्याली

२७ मंसिर २०८२, शुक्रबार १८:३४

वीरगंज। कमन जेनजी नेपाल र जेनजी नेपालले आज वीरगंजमा खबरदारी मोटरसाईकल र्याली निकालेको छ । जेनजी हत्यारा, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने, जेनजीसंग गरिएका नक्कली सम्झौता खारेज गर्नुपर्ने लगायतका माग गर्दै खबरदारी मोटरसाईकल र्याली निकालिएको हो ।

वीरगंजको लालबंगलाबाट निष्केको सो मोटरसाईकल र्याली घण्टाघर, माइस्थान, नारायणी अस्पताल, रजतजयन्ती चौक, आदर्शनगर हुँदै घण्टाघरमा पुगेर समापन भएको थियो । सुशीला कार्की नेतृत्वको सरकारले जेनजी हत्यारा, भ्रष्टाचारीलाई कारबाही गर्न असफल भएको भन्दै उनीहरुले प्रधानमन्त्री सुशीलाको राजीनामा समेत माग गरेका छन् ।

जेनजी हत्यारा र भ्रष्टाचारीलाई कारवाही गर, जेनजी आन्दोलनलाई संस्थागत गर, निकास बिना निर्वाचनको औचित्य छैन, देखावटी सम्झौता हाम्रो माग हैन, जेनजीको माग सुनिश्चित गर, जेनजी माथिको दमन बन्द गर, हत्यारा र भ्रष्टाचारीलाई कारवाही गर, सुशीला तिम्रो पाराले दुख पाए साराले, सुशीला सरकार मुर्दाबाद, हत्यारालाई पक्राउ गर, भ्रष्टाचारीलाई कारबाही गर, पक्राउ परेका जेनजीलाई यथाशिघ्र रिहाइ गर लगायतका नारा लगाउदै र्याली निकालिएको हो ।

वीरगंजमा मोटरसाईकल र्याली निकाल्नुभन्दा अघि कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हालै सरकार र जेनजीबीच भएको सम्झौता धोखा हो भन्दै च्यातेर विरोध गरेका छन् ।

जेनजी हत्यारा, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने, जेनजी आन्दोलनकारीलाई धरपकड बन्द गर्नुपर्ने र पक्राउ परेकालाई रिहाई गर्नुपर्ने लगायतका माग आफूहरुको रहेको कमन जेनजी नेपालका अध्यक्ष साहले जनाएका छन् ।

‘जेनजी हत्यारा, भ्रष्टाचारीलाई पक्राउ गर्न नसक्ने सुशीला सरकारले जेनजी आन्दोलनकारीलाई पक्राउ गरेर बहादुरी देखाइरहेका छ । जेनजी हत्यारा केपी ओली, रमेश लेखक लगायतलाई यथाशिघ्र पक्राउ गरी कारबाही गर्न हामीले माग गर्दैआएका छौ,’ साहले भने, ‘तर यो बहिरा सरकारले हत्यारालाई पक्राउ गर्न सकेको छैन् । नाटक मात्रै गरिरहेको छ । फेक आइडीबाट बनेको सरकारले फेक जेनजीलाई राखेर सम्झौताको नाटक गरिरहेको छ ।’

सरकारद्वारा हालै प्रस्तुत गरिएको सम्झौतापत्रले जेनजी जनआन्दोलनको वास्तविक मर्म, मुद्दा र जनआवाजलाई पूर्ण रूपमा वेवास्ता गरेको जेनजी नेपालका संयोजक कृष्णमोहन सहनीले जनाएका छन् । सरकारले देशको राजनीतिक संकट समाधान गर्न आवश्यक मूल प्रश्नहरूलाई सम्बोधन गर्न असफल भएको सहनीले बताए ।

‘फेक आईडीबाट बनेको सुशीला सरकारले अझै पनि आफ्नै निर्देशनमा चल्ने फेक जेनजीहरूलाई राखी गरेको समझौता मान्य छैन । देशव्यापी रूपमा उभिएको परिवर्तनको चाहना, युवाहरूको बलिदान र जनताको भरोसालाई कमजोर बनाउने यस्तो समझौताप्रति कमन जेनजी नेपाल कडा विरोध गर्दछ,’ कमन जेनजी नेपालका अध्यक्ष साहले भने ।

र्यालीमा कमन जेनजी नेपालका अध्यक्ष विकेश साह, जेनजी नेपालका कृष्णमोहन सहनीका साथै निकोलस भुसाल हजारौंको विशेष सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्