सिराहा। आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकारको नेतृत्व नै लुते भएको कारण नै चौतर्फी आक्रमणको शिकार भएको टिप्पणी गरेका छन् ।
जेन–जी जनविद्रोहको जगमा बनेको सरकारले आफ्नो मूल दायित्व नै बिर्सिएको कारण अहिले परिवर्तन नचाहने तत्वहरुको प्रहार सहनुपरेको साहको दाबी छ । सरकार बनेको एक सय दिन बित्न नपाउँदै विकल्प खोज्ने कुरा उठ्नु वर्तमान सरकारको असफलतासँग जोडिएको साहको भनाई छ ।
उनले भने,‘यो सरकार ठीक दिशामा हिँडेको भए र आफ्नो मूल दायित्व पूरा गर्नतर्फ गम्भीर बनेको भए आज एक सय दिन नपुग्दै विकल्प खोज्ने कुरा उठ्थ्यो त ? यो गम्भीर प्रश्नको विषय हो ।’
आज (आइतबार) सिराहको धनगढिमाई बजारमा आयोजित सिराहा क्षेत्र नं. २ को क्षेत्रीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले सरकारमा बसेकाहरुले तोकिएको मितिमा चुनाव गराउने दायित्व भुल्न थालेको र रंगबिरंगी खेलोफड्कोमा अल्झिएको आरोप लगाए ।
उनले निर्दलीय सरकारमा बसेर कुलमान घिसिङ्ले आफ्नो स्वार्थको रोटी सेकिरहेको र सत्ताको दुरूपयोग गरेर आफ्नो पार्टीको प्रचारमात्रै गरेको भन्दै मन्त्रीको जिम्मेवारीबाट घिसिङ्लाई तत्काल बर्खास्त गर्नपनि प्रधानमन्त्रीसमक्ष माग गरे ।
उनले भने,‘कुलमानकै महत्वकांक्षाको कारण यो सरकारलाई जेनजी आन्दोलनमा दमन गरेका हत्याहरुले पनि हेप्न थाले, अहिले त खुलेआम चुनाव हुन दिन्नौं भनेर धम्की दिन थालेका छन्, यो अवस्था कसरी सिर्जना भयो ? प्रधानमन्त्रीले गम्भीर कदम चाल्नुपर्छ ।
निर्दलीय सरकारमा बसेर दल खोल्ने र रातारात हिरो हुन्छु भनेर लोभ पालेर बसेका कुलमानहरुको कारण सरकार बदनाम भइरहेको छ, यसतर्फ प्रधानमन्त्रीले कदम चाल्नुपर्छ । दल खोल्ने र राजनीतिको रोटी सेक्ने ईच्छा देखाएका कुलमानलाई बिदा गर्नुपर्छ ।
देशको विकास निर्माणसँग प्रत्यक्ष जोडिएका तीन तीन वटा महत्वपूर्ण मन्त्रालयको चाबी कसको दबावमा सुम्पिनुभयो ? उहाँ जेनजीको भावनाअनुसार चल्नुभएको छ त ? कि कसैको इशारामा नाच्दै हुनुहुन्छ ?’ मन्त्री घिसिङले कतिपय आयोजनाको निरीक्षण गर्ने क्रममा धम्कीको भाषा बोल्ने गरेको र समयमा आयोजना नसके यो धर्तीमा नै रहन नदिने भनेर बोलेकोमा पनि साहले आपत्ति जनाए ।
उनले वर्तमान सरकारले एक सय दिन पुगेको अवसरमा कामको फेहरिस्त सुनाउन थालेकोमा पनि आपत्ति जनाए । उनले सय दिनमा सयथरि कुरा गरेर समय व्यतित नगर्न पनि प्रधानमन्त्री कार्कीलाई चेतावनी दिए । साहले चुनाव गराउने दायित्व पूरा नगर्ने हो भने बेलैमा मार्गप्रशस्त गर्न पनि प्रधानमन्त्रीलाई आग्रह गरे ।
उनले भने,‘तपाई दिन बिताउने मेसोमा मात्रै लागेको हो भने यो हामीलाई मान्य छैन, न त अहिलेसम्म जेनजी आन्दोलनका शहादत दिएकाहरुलाई न्याय दिन सक्नुभयो, उनीहरुको हत्याहरु अहिलेपनि देश र दुनियाँ अनि जनता धम्क्याउँदै हिँडेका छन्, तर तपाईंहरु कानमा तेल हालेर र हात बाँधेर बस्नुभएको छ, यसरी जेनजी आन्दोलनका शहिदहरुलाई न्याय हुन्छ ? अर्को, चुनाव गराउने दायित्वपनि पूरा गरेको देखिँदैन, अहिलेसम्म लुटिएका हतियार फिर्ता ल्याउन सक्नुभएको छैन, गम्भीर अपराधका कैदीबन्दीहरु फरारकै अवस्थामा छन्, फिर्ता ल्याउन सक्नुभएको छैन, नसक्ने हो भने देशको समय बर्वाद नगर्नुहोस र संकटको घडीमा सक्षम व्यक्ति ल्याएर भएपनि चुनाव गराउँछौं ।’ उनले सुशीला कार्कीहरुले जेनजी आन्दोलनको मर्म र भावनामाथि बारम्बार प्रहार गरेको भन्दै आलोचना गरे ।
जेनजीहरुले ओली–आरजुलाई सरकारबाट हटाएर सुशीला–कुलमानलाई विराजमान गर्नको लागि मात्रै आन्दोलन नगरेको साहको भनाई छ ।
भदौ २३ गते जेन–जी युवाहरुको टाउको र छातीमा ताकि ताकि गोली हानेर हत्या गरेकाहरुले आज उल्टै सरकारलाई धम्काउने काम गरेको भन्दै साहले सरकारमा भएकाहरुको कार्यक्षमतामाथि प्रश्न उठाए ।
गृहमन्त्री ओमप्रकाश अर्यालले सुरुदेखि नै आफ्नो जिम्मेवारी सही तवरले बहन गर्न नसकेको उनको आरोप छ । त्यही भएर अहिले गृहमन्त्री ‘दुलोभित्र लुकेर बसेको मुसा’ को हालतमा रहेको उनको टिप्पणी छ । उनले भने,‘दिनदाहाडै युवाहरुको हत्या गरिएको छ, तर यो सरकारले अहिलेसम्म दोषीहरुलाई कारबाही गर्न सकेको छैन, हत्याहरुलाई बयान लिन सकेको छैन ।
ती हत्याहरुको धम्कीसँग डराएर बसेको छ, अनि कसरी ती जेनजी शहिदहरुको सम्मान हुन्छ ? उनीहरुको परिवारको लागि न्याय दिलाउनुहुन्छ ?’
तत्कालिन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई बयान लिए देश ठप्प पार्ने भने दिएको चेतावनीप्रति पनि साहले गम्भीर असन्तोष व्यक्त गरे । उनले भने,‘यो देश एमालेको निजी हो र ? लोकतान्त्रिक भन्ने दलको नेताले यसरी दिनदाहाडै राज्य–संयन्त्र र जनतालाई धम्की दिने ? उहाँहरुले यो देशलाई कता लैजान खोज्दै हुनुहुन्छ ? खबरदार, नेपाली जनतालाई धम्की दिने कोशिस नगर, अब जनता जागेको अवस्था छ । तिमीहरुको धाक, धम्कीसँग जनता डराउनेवाला छैनन् ।’
जाँचबुझ आयोगका पदाधिकारीले तीन महिनाको समय त्यत्तिकै व्यतित गरेको र फेरि एक महिनाको समय थपिएकोमा पनि साहले असन्तुष्टि पोखे । शक्तिशाली आयोगले आन्दोलनमा दमन गर्नेहरुलाई अहिलेसम्म बयानमा बोलाएर कारबाहीको लागि सिफारिश गर्नुपर्नेमा डराएर बसेको र म्याद गुजारेको साहको आक्रोश छ ।