बागमती। मकवानपुरको भीमफेदी गाउँपालिका–७ कोगटेमा आज आगलागी हुँदा करिब रु तीन लाख मूल्य बराबरको क्षति भएको छ भने एक जना घाइते भएका छन् ।
स्थानीय कविता सिंजालीको गोठमा आगलागी हुँदा गोठसहित गोठमा रहेको दुई वटा खसी, दुई वटा बोका र चार वटा बाख्रा जलेर मरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
काठ र खरले छाएको गोठमा कुडो पकाउने क्रममा अचानक आगलागी हँुदा आगोले पोलेर ४४ वर्षीया सिंजाली घाइते भएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए।
उनको स्थानीय मेडिकलमा प्राथमिक उपचारपश्चात् थप उपचारको लागि हेटौँडा अस्पताल ल्याइएको प्रहरीको भनाइ छ । यसअघि सोमबार पनि आगो ताप्ने क्रममा आगोले पोलेर मकवानपुरको बकैया गाउँपालिका–८ शिशिर दमारमा एक नबालिका गम्भीर घाइते भएको थियो ।
जाडोबाट जोगिन आगो ताप्ने क्रममा पोलेर चितवनको राप्ती नगरपालिका–१ लोथर घर भई बकैया गाउँपालिका–८ शिशिर दमार बस्ने दिलबहादुर प्रजाको पाँच वर्षीया छोरी सोनिया प्रजा गम्भीर घाइते भएकी थिइन् । रासस