ढाका। सत्र वर्ष लामो निर्वासनपछि बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) का कार्यवाहक अध्यक्ष तारिक रहमान बिहीबार स्वदेश फर्किनुभएको छ ।
पूर्व प्रधानमन्त्री शेख हसिनाको सत्ता पतनपछि उहाँको आगमनलाई बङ्गलादेशको राजनीतिमा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ ।
रहमान आफ्नी धर्मपत्नी जुबैदा रहमान र छोरी जाइमा रहमानसँग लन्डनबाट विमान बङ्गलादेश एयरलाइन्सको उडानमार्फत ढाका आइपुग्नुभएको हो ।
उक्त विमान ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुअघि सिल्हटमा अवतरण गरेको थियो । उहाँको स्वागतका लागि विमानस्थल आसपास र ३०० फिट रोड क्षेत्रमा ठूलो सङ्ख्यामा बिएनपी समर्थक तथा कार्यकर्ता भेला भएका थिए ।
देशका विभिन्न भागबाट आएका समर्थकहरूले क्षेत्रलाई मानौँ जनसागरमा परिणत गरेका थिए । पार्टीका वरिष्ठ नेताहरू, स्थायी समितिका सदस्यसहित विमानस्थलमै उहाँलाई स्वागत गर्ने कार्यक्रम तय गरिएको थियो ।
भीड व्यवस्थापनका लागि विमानस्थल प्रशासनले २४ घण्टाका लागि आगन्तुक प्रवेशमा प्रतिबन्ध लगाएको थियो । वैध टिकट र पासपोर्ट भएका यात्रुहरू बाहेक अन्यलाई विमानस्थल प्रवेशमा रोक लगाइएको बिडीन्युज२४ ले जनाएको छ ।