काँक्रेविहार। सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी निर्माण हुने भएको छ।
आज कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले उक्त पोखरी निर्माणकार्य शुभारम्भ गरे। उनले विपद्का घटना अकस्मात हुने हुँदा पूर्वतयारीका लागि पोखरी उपयोगी हुने बताए।
मुख्यमन्त्री कँडेलले बढ्दो सहरीकरणका कारण आगजनीका घटना दिनप्रति दिन बढिरहेकाले हेलिकप्टरसहित दमकलबाट अग्नी नियन्त्रण गर्न पोखरी निर्माणले सहज हुने बताए।
उनले प्रदेश सरकारले विपद् न्यूनीकरण गर्न नेपाली सेनालगायत सुरक्षा निकायहरूसँग सहकार्य गरिरहेको बताउँदै विपद् न्यूनीकरणमा सबैको सामूहिक प्रयास आवश्यक रहेको बताए।
प्रदेश सरकारले नेपाली सेनासँगको सहकार्यमा पोखरी निर्माण गर्न लागेको हो। विमानस्थलस्थित पश्चिम पृतना सुर्खेत विमानस्थल एयरवेशको हाताभित्र निर्माण हुने पोखरीबाट आगलागीका बेला हेलिकप्टरमार्फत पानी भरेर आगलागीका घटना नियन्त्रण गर्न उपयोगी हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका विपद् महाशाखा प्रमुख उपसचिव उत्तम गौतमले जानकारी दिए।
उनका अनुसार उक्त प्रविधिलाई ‘बम्वी बकेट’ भनिन्छ, यसको अर्थ हेलिकप्टरमा झुण्ड्याइने विशेष बाल्टिन हो, जसले पोखरी वा तालबाट पानी भरेर डढेलो वा आगलागी नियन्त्रण गरिन्छ। उक्त पोखरी अधिकतम ९७ फिट लामो र १३ फिट गहिरो हुने पोखरीको लागत रु ९९ लाख ९६ हजार २०० रहने उपसचिव गौतमले जानकारी दिए।