Trending
भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |     ‘ओएसआर डिजिटल’ले महँगो मुल्यमा किन्यो ‘म मदनकृष्ण’को डिजिटल राइट     |     संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     इंग्ल्यान्डमाथि रोमाञ्चक पुनरागमन जित निकाल्दै अर्जेन्टिना विश्वकपको फाइनलमा     |     सम्पत्ति छानबिन नगर्न अन्तरिम आदेश     |     पेट्रोलियम पदार्थको मूल्य यथावत्     |     कोशी सरकारबाट मन्त्री फिर्ता बोलाउने कांग्रेसको तयारी     |     प्रतिष्ठित डाना कपमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ पुनः मनोनित     |     नक्कली शरणार्थी प्रकरण: को को दोषी ठहर भए, कसलाई कति सजाय ?     |    
समाचार

नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्तिबीच पार्टी एकीकरणको सहमति

१४ पुष २०८२, सोमबार २२:१०

काठमाडौँ। पुष्पकमल दाहाल संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच एकीकरण गर्ने सहमति भएको छ।

२१ फागुनको निर्वाचनका लागि दलहरूले निर्वाचन आयोगमा समानुपातिक सूची बुझाउँदै गर्दा यी दुई दलबीच एकताको सहमति जुटेको हो।

यी दुई दलको एकताको सहमतिमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण र समाजवादको दिशामा अगाडि बढ्ने साझा लक्ष्यसहित दुवै पार्टीबीच सहमति पत्रमा हस्ताक्षर भएको हो। सहमतिअनुसार एकीकरणपछि पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहनेछ भने चुनाव चिह्न तारा नै हुनेछ। दुवै पार्टीबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि स्वतः नेपाली कम्युनिस्ट पार्टीका सदस्य हुनेछन्।

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय समितिलगायत सबै संरचना र जनवर्गीय संगठन आपसी सहमतिमा नेपाली कम्युनिष्ट पार्टीमा समायोजन गरिने पनि सहमति पत्रमा उल्लेख छ। यस्तै विगतका अनुभवको वस्तुनिष्ठ समीक्षा गर्दै संघीयता, सुशासन, समृद्धि र सामाजिक न्यायमार्फत समाजवादतर्फ अघि बढ्ने प्रतिबद्धता जनाइएको छ।

सहमति पत्रमा महिला, थारु, मधेसी, आदिवासी जनजाति, दलित, मुस्लिम, अल्पसंख्यक, पिछडिएको वर्ग र क्षेत्रका समुदायलाई राज्यका सबै तहमा समानुपातिक समावेशीकरण सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ।

कैलालीको टीकापुर नरसंहारसँग सम्बन्धित प्रतिशोधका आधारमा लगाइएका झुट्टा मुद्दा खारेज गर्न र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने विषय पनि सहमतिमा समावेश गरिएको छ।

सहमति पत्रमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपाल र संयोजक पुष्पकमल दाहालले हस्ताक्षर गरेका छन्। रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपालसँग एकीकरण भइनसक्दै रञ्जिता नेकपामा समाहित भएकी हुन्।

प्रतिक्रिया दिनुहोस्