काठमाडौं। नेपाली टेनिस खेलाडी शिभाली गुरुङले एसिया÷प्यासिफिक एलिट यु–१४ ट्रफी खेल्ने भएकी छिन् । प्रतियोगिता जनवरी २८ देखि ३० तारिखसम्म अस्ट्रेलियाको मेलबर्नमा हुनेछ ।
एसियामा यु–१४ उमेरसमूहमा चौथो वरीयतामा रहेकी शिभाली प्रतियोगिताको तयारीका लागि अस्ट्रेलियाअघि आइतबार मलेसिया जाने नेपाल टेनिस संघका सचिव अजय विष्टले जनाएका छन् । मलेसियाबाटै शिभाली अस्ट्रेलिया जाने कार्यक्रम रहेको छ ।
शिभालीलाई युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहताले शुक्रबार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे ।
सो अवसरमा राखेप कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, राखेपका सदस्य हिमालकुमार श्रेष्ठ र जगतसिंह धामी, टेनिस संघका अध्यक्ष मनोहरदास मुललगायतको उपस्थिति रहेको थियो ।