Trending
मन्त्री घिसिङले दिए राजीनामा     |     आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारहरुको सूची सार्वजनिक     |     राष्ट्रियसभा निर्वाचनः कर्णालीमा चार जनाको मनोनयन दर्ता     |     सुनको मुल्य सामान्य घट्यो, चाँदीको मुल्य अहिलेसम्मकै उच्च     |     यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर     |     मुख्यमन्त्री कँडेलद्वारा भेरी पम्पिङ आयोजनाको अनुगमन     |     ‘मिरमिरे’ को ट्रेलर सार्वजनिक     |     नेपालमा वैदेशिक हस्तक्षेप बढ्दो छ, देशभक्तहरु चनाखो हुनुपर्छ- प्रभु साह     |     टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा     |     आईसीसी टी-२० विश्वकपका लागि नेपाली क्रिकेट टोलीको जर्सी सार्वजनिक     |    
समाचार

मुख्यमन्त्री कँडेलद्वारा भेरी पम्पिङ आयोजनाको अनुगमन

२२ पुष २०८२, मंगलवार २१:०१

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले सोमबार भेरी पम्पिङ आयोजनाको अनुगमन गरेका छन् । सन् २०५० सम्म वीरेन्द्रनगरमा वृद्धि हुनसक्ने जनसङ्ख्यालाई मध्यनजर गरेर अघि बढेको आयोजनाको सोमबार अनुगमन गरेका हुन् ।

मुख्यमन्त्री कँडेलले आयोजना लक्ष्यअनुसार तीव्र गतिमा अघि बढेकामा प्रशंसा गर्दै यसलाई निरन्तरता दिनुपर्ने बताए । उनले भने, “यो आयोजना तीनै तहका सरकारको संयुक्त लागतमा निर्माण भइरहेको छ । आयोजनामा सङ्घीय सरकारको ८० प्रतिशत, प्रदेश सरकारको १३ प्रतिशत र नगरपालिकाको सात प्रतिशत लगानी छ ।”

आयोजनाको निर्माण चिनियाँ कम्पनी ‘सिज्याङ टम्र्स इन्टरनेशनल इकोनोमी एण्ड टेक्निकल कर्पोरेसन’ले गत वर्षदेखि कामलाई निरन्तरता दिएको मुख्यमन्त्री कँडेलले जानकारी दिए । उनले भने, “विगतमा निर्माण प्रक्रियाका कतिपय चरण पूरा नगरी कार्यान्वयनमा जाँदा केही ढिलाइ भएको थियो । अहिले प्रभावकारी रूपमा काम भइरहेको छ ।”

विगतमा केही समस्या भए पनि प्रदेश सरकार र नगरपालिकाबीच सहकार्य र समन्वय निरन्तर भइरहेको मुख्यमन्त्री कँडेलले जानकारी दिए । उनले ठेकेदार कम्पनीलाई यही गतिमा कामलाई निरन्तरता दिन निर्देशन दिए ।

मुख्यमन्त्री कँडेललाई आयोजना परामर्शदाता प्रमुख रमेश अधिकारीले भौतिक प्रगति करिब १४ प्रतिशत भएको जानकारी दिएका थिए । उनले पहिलो चरणमा तीन अर्ब पाँच करोड आठ लाख १५ हजार २८०.६१ रुपैयाँ लागतमा काम भइरहेको जानकारी दिए । भेरी नदीबाट सात किमी दूरीमा रहेको वीरेन्द्रनगर नगरपालिका–११ को अमृतडाँडामा मुख्य रिजर्भ ट्याङ्की निर्माण भइरहेको छ ।

आयोजना सन् २०२७ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ‘पम्पिङ’ प्रविधिबाट सुरु गरिएको उक्त परियोजनाले वीरेन्द्रनगरका बासिन्दालाई सन् २०५० सम्म खानेपानी पुग्ने अनुमानसहित निर्माण सुरु गरिएको हो । रासस/

प्रतिक्रिया दिनुहोस्