Trending
भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |     ‘ओएसआर डिजिटल’ले महँगो मुल्यमा किन्यो ‘म मदनकृष्ण’को डिजिटल राइट     |     संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     इंग्ल्यान्डमाथि रोमाञ्चक पुनरागमन जित निकाल्दै अर्जेन्टिना विश्वकपको फाइनलमा     |     सम्पत्ति छानबिन नगर्न अन्तरिम आदेश     |     पेट्रोलियम पदार्थको मूल्य यथावत्     |     कोशी सरकारबाट मन्त्री फिर्ता बोलाउने कांग्रेसको तयारी     |     प्रतिष्ठित डाना कपमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ पुनः मनोनित     |     नक्कली शरणार्थी प्रकरण: को को दोषी ठहर भए, कसलाई कति सजाय ?     |    
समाचार

मुख्यमन्त्री कँडेलद्वारा भेरी पम्पिङ आयोजनाको अनुगमन

२२ पुष २०८२, मंगलवार २१:०१

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले सोमबार भेरी पम्पिङ आयोजनाको अनुगमन गरेका छन् । सन् २०५० सम्म वीरेन्द्रनगरमा वृद्धि हुनसक्ने जनसङ्ख्यालाई मध्यनजर गरेर अघि बढेको आयोजनाको सोमबार अनुगमन गरेका हुन् ।

मुख्यमन्त्री कँडेलले आयोजना लक्ष्यअनुसार तीव्र गतिमा अघि बढेकामा प्रशंसा गर्दै यसलाई निरन्तरता दिनुपर्ने बताए । उनले भने, “यो आयोजना तीनै तहका सरकारको संयुक्त लागतमा निर्माण भइरहेको छ । आयोजनामा सङ्घीय सरकारको ८० प्रतिशत, प्रदेश सरकारको १३ प्रतिशत र नगरपालिकाको सात प्रतिशत लगानी छ ।”

आयोजनाको निर्माण चिनियाँ कम्पनी ‘सिज्याङ टम्र्स इन्टरनेशनल इकोनोमी एण्ड टेक्निकल कर्पोरेसन’ले गत वर्षदेखि कामलाई निरन्तरता दिएको मुख्यमन्त्री कँडेलले जानकारी दिए । उनले भने, “विगतमा निर्माण प्रक्रियाका कतिपय चरण पूरा नगरी कार्यान्वयनमा जाँदा केही ढिलाइ भएको थियो । अहिले प्रभावकारी रूपमा काम भइरहेको छ ।”

विगतमा केही समस्या भए पनि प्रदेश सरकार र नगरपालिकाबीच सहकार्य र समन्वय निरन्तर भइरहेको मुख्यमन्त्री कँडेलले जानकारी दिए । उनले ठेकेदार कम्पनीलाई यही गतिमा कामलाई निरन्तरता दिन निर्देशन दिए ।

मुख्यमन्त्री कँडेललाई आयोजना परामर्शदाता प्रमुख रमेश अधिकारीले भौतिक प्रगति करिब १४ प्रतिशत भएको जानकारी दिएका थिए । उनले पहिलो चरणमा तीन अर्ब पाँच करोड आठ लाख १५ हजार २८०.६१ रुपैयाँ लागतमा काम भइरहेको जानकारी दिए । भेरी नदीबाट सात किमी दूरीमा रहेको वीरेन्द्रनगर नगरपालिका–११ को अमृतडाँडामा मुख्य रिजर्भ ट्याङ्की निर्माण भइरहेको छ ।

आयोजना सन् २०२७ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ‘पम्पिङ’ प्रविधिबाट सुरु गरिएको उक्त परियोजनाले वीरेन्द्रनगरका बासिन्दालाई सन् २०५० सम्म खानेपानी पुग्ने अनुमानसहित निर्माण सुरु गरिएको हो । रासस/

प्रतिक्रिया दिनुहोस्