काठमाडौं। सेनेगलले मोरक्कोलाई पराजित गर्दै लगातार दोस्रो पटक अफ्रिका कप अफ नेसन्स (एफकन) को उपाधि उचालेको छ। रबातमा भएको तनावपूर्ण फाइनल भिडन्तमा अतिरिक्त समयमा गरिएको गोल नै सेनेगलको जितका लागि निर्णायक बन्यो।
निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयको चौथो मिनेटमा पापे गेयले गोल गर्दै सेनेगललाई अग्रता दिलाए, जुन जितका लागि पर्याप्त भयो।
मोरक्कोका लागि खेलको अन्तिम समयमा स्वर्ण अवसर प्राप्त भएको थियो। इन्जुरी समयको २४औँ मिनेटमा भीएआर (VAR) को सहयोगमा मोरक्कोले पेनाल्टी पाएको थियो। तर, स्टार खेलाडी इब्राहिम डियाजले चिप गर्ने प्रयास गर्दा सेनेगलका गोलरक्षक एडुआर्ड मेन्डीले बललाई सहजै रोकिदिए।
पेनाल्टी दिने निर्णयपछि खेल केही समयका लागि विथोलिएको थियो। सेनेगलका खेलाडीहरूले विरोध स्वरूप मैदान छाडेका थिए भने दर्शकदीर्घामा सुरक्षाकर्मी र समर्थकबीच झडप समेत भएको थियो।
बराबरीका लागि मोरक्कोले गरेका प्रयासहरू सफल हुन सकेनन्। विशेषगरी नाएफ अगुएर्डको प्रहार बारमा ठोक्किएर बाहिरिँदा घरेलु टोली स्तब्ध बन्यो।
सन् २०२१ मा इजिप्टलाई हराएर पहिलो पटक च्याम्पियन बनेको सेनेगलका लागि यो लगातार दोस्रो सफलता हो।
सन् १९७६ पछि पहिलो पटक महादेशीय उपाधि जित्ने दाउमा रहेको मोरक्कोका लागि यो हार निकै पीडादायी रह्यो।
सन् २०३० को विश्वकप आयोजक बन्ने तयारीमा रहेको मोरक्कोको आफ्नै घरेलु मैदानमा वर्षासँगै उपाधि सपना पनि पखालियो।