काठमाडौँ। राष्ट्रिय लिग फुटबलमा आज ३ वटा खेल हुँदैछन् ।
पहिलो खेल नव जनजागृति क्लब र लालिगुँरास एशोसिएसनबीच बिहान ११ बजे एन्फा कम्प्लेक्समा हुनेछ । दिउँसो २ बजे न्यूरोड टिम र सातदोबाटो युथ क्लबबीच दशरथ रङ्गशालामा खेल हुनेछ ।
तेस्रो खेल बेलुकी साढे ६ बजे मनाङ मर्स्याङदी क्लब र मछिन्द्र फुटबल क्लबबीच दशरथ रङ्गशालामै हुनेछ । हिजो भएका खेलमा सङ्कटा एफसी, एपीएफ एफसी र जावलाखेल युथ क्लब विजयी भएका छन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भइरहेको राष्ट्रिय लिग फुटबलमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरी १७ वटा टोली सहभागी छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने लिगमा कूल १ सय ३६ खेल हुनेछन् ।
राष्ट्रिय लिगका खेलहरू दशरथ रङ्गशाला, च्यासल रङ्गशाला र एन्फा कम्प्लेक्समा हुनेछन् । राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने एन्फाले जनाएको छ ।