Trending
भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |     ‘ओएसआर डिजिटल’ले महँगो मुल्यमा किन्यो ‘म मदनकृष्ण’को डिजिटल राइट     |     संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     इंग्ल्यान्डमाथि रोमाञ्चक पुनरागमन जित निकाल्दै अर्जेन्टिना विश्वकपको फाइनलमा     |     सम्पत्ति छानबिन नगर्न अन्तरिम आदेश     |     पेट्रोलियम पदार्थको मूल्य यथावत्     |     कोशी सरकारबाट मन्त्री फिर्ता बोलाउने कांग्रेसको तयारी     |     प्रतिष्ठित डाना कपमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ पुनः मनोनित     |     नक्कली शरणार्थी प्रकरण: को को दोषी ठहर भए, कसलाई कति सजाय ?     |    
समाचार

भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी

१९ माघ २०८२, आईतवार १६:३२

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले भेनेजुएलाको तेल किन्नका लागि पहिले नै सम्झौता गरिसकेको दाबी गरेका छन् । साथै उनले चीनलाई पनि भेनेजुएलाको तेल किन्न खुला रूपमा आग्रह गरेका छन् ।

एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले चीनलाई भेनेजुएलाको तेलमा ठूलो सम्झौता गर्न स्वागत रहेको बताए । उनले भारत चाँडै भेनेजुएलाको तेल खरिद प्रक्रियामा प्रवेश गर्ने र इरानबाट तेल किन्नुको सट्टा भेनेजुएलाबाट आयात गर्ने योजना बनेको उल्लेख गरे । उनका अनुसार यस विषयमा सम्झौताको अवधारणा पहिल्यै तयार भइसकेको छ ।

“हामीले पहिले नै एउटा सम्झौता गरिसकेका छौँ । भारत आउँदैछ र उनीहरूले इरानबाट किन्नुको सट्टा भेनेजुएलाको तेल किन्न जाँदैछन् । त्यसैले हामीले सम्झौताको ढाँचा बनाइसकेका छौँ”, ट्रम्पले भने । उनले चीनलाई पनि भित्र आएर तेल किन्न स्वागत रहेको दोहो¥याए ।

तर भारत सरकारले अहिलेसम्म राष्ट्रपति ट्रम्पको यस टिप्पणीबारे औपचारिक प्रतिक्रिया दिएको छैन ।

यसअघि राष्ट्रपति ट्रम्पले भेनेजुएलाले अमेरिकालाई पाँच अर्ब २० करोड अमेरिकी डलर बराबरको पाँच करोड ब्यारेल तेल प्रस्ताव गरेको र त्यसमा सहमति भइसकेको दाबी गरेका थिए । साउदर्न बुलेभार्डको नाम परिवर्तन गरी डोनाल्ड ट्रम्प बुलेभार्ड बनाउने विषयमा आयोजित पत्रकार सम्मेलनमा उनले नयाँ नेतृत्वसँग निरन्तर संवाद भइरहेको बताए ।

“हामी नयाँ राष्ट्रपतिसँग र देश सञ्चालन गर्ने अन्य व्यक्तिहरूसँग कुरा गरिरहेका छौँ । उनीहरूले भने, हामीसँग पाँच करोड ब्यारेल तेल छ र यसलाई तुरुन्तै प्रशोधन गर्नुपर्छ किनकि भण्डारणको ठाउँ छैन । के तपाईँ लिनुहुन्छ ? मैले भनेँ, हामी लिन्छौँ”, ट्रम्पले भने । उनका अनुसार उक्त तेलको मूल्य पाँच अर्ब २० करोड अमेरिकी डलर बराबर पर्छ ।

राष्ट्रपति ट्रम्पले भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मदुरोलाई सैन्य कारबाहीमार्फत पक्राउ गरेपछि बनेको अन्तरिम सरकारसँग अमेरिकाको सम्बन्ध राम्रो रहेको पनि उल्लेख गरे । “हामी अन्तरिम राष्ट्रपति रहेका व्यक्ति र अन्य सबैसँग राम्रो सम्बन्धमा छौँ । धेरै दबाब कम भएको छ”, उनले भने ।

मदुरोको नियन्त्रण अन्त्य भएपछि ट्रम्पले वासिङ्टनले भेनेजुएलालाई सङ्क्रमणकालमा सहयोग गर्ने र तेलसहित अन्य स्रोतमा पूर्ण पहुँच चाहेको स्पष्ट पारेका थिए ।

राष्ट्रपति ट्रम्पको पछिल्लो टिप्पणीले न्युयोर्कस्थित समाचार संस्था सेमाफोरको हालैको रिपोर्टलाई पनि पुष्टि गरेको छ । उक्त रिपोर्टअनुसार अमेरिकाले भेनेजुएलाको तेलको पहिलो बिक्री गरेको छ, जसको मूल्य करिब ५० करोड अमेरिकी डलर छ ।

सेमाफोरका अनुसार तेल बिक्रीबाट प्राप्त हुने रकम हाल अमेरिकी सरकारको नियन्त्रणमा रहेको बैंक खातामा राखिएको छ । प्रशासनका एक अधिकारीले शुक्रबार जारी आदेशमा यसको सङ्केत गरेको र अर्का वरिष्ठ अधिकारीका अनुसार मुख्य खाता कतारमा अवस्थित रहेको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्