Trending
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता     |     प्रताप दास र अन्नु चौधरीको गीतमा जापानका मोडल शिरीषको अभिनय     |     कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली     |     सुर्खेतमा चार घण्टा रोकिएपछि प्रधानमन्त्री ओली हुम्लातर्फ उडे     |     गुण्डा परिचालनगरि ४४ परिवारको जमिन कब्जा ?     |     राष्ट्रिय श्रष्टा प्रतिष्ठानको महासचिवमा सनम कठायत चयन     |     गरिखाने शिक्षा प्रणालीमा सरकारको जोड : मन्त्री भण्डारी     |     नेपाल उज्वेकिस्तानसँग टाइब्रेकरमा पराजित     |     यी भूभागमा धेरै भारी वर्षाको सम्भावना     |     पर्यटन सहकारीकर्मीको क्षमता अभिवृद्धि गर्न दुई दिने तालिम     |    
समाचार

मन्त्री यादवद्वारा सिस्नेरी खानेपानी आयोजना कार्यान्वयनमा जोड

१८ आश्विन २०८१, शुक्रबार १५:३२

१८ असोज, काठमाडौँ। खानेपानीमन्त्री प्रदीप यादवले सिस्नेरी खानेपानी आयोजनालाई चाँडो कार्यान्वयनमा ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाउन सम्बद्ध पक्षलाई निर्देशन दिएका छन् ।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) द्वारा आज आयोजित फोहर पानी निगरानी प्रयोगशालाको उद्घाटन गर्दै मन्त्री यादवले जतिसक्दो छिटो वैकल्पिक स्रोतका रूपमा रहेको सिस्नेरी खानेपानी आयोजना सञ्चालन गर्न निर्देशन दिएका हुन् ।

उनले भने,“राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको विकल्पका रूपमा ललितपुरमा खानेपानी आपूर्ति गर्ने उद्देश्यले मकवानपुरमा अवस्थित सिस्नेरी खोलाको पूर्व सम्भाव्यता अध्ययन र अन्य आवश्यक प्रक्रियाहरू पूरा गर्नुहोस् ।”

जिटुजी कार्यक्रमअन्तर्गत सिस्नेरी खानेपानी आयोजनाको कार्यान्वयनका लागि सम्भावनाको पहिचान गर्न पनि मन्त्री यादवले निर्देशन दिए । शुद्ध पानी पिउन पाउने जनताको अधिकार सुनिश्चित गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले फोहोर पानीसँग सम्बन्धित प्रयोगशालालाई आवश्यक जनशक्ति र उपकरणसहित प्रभावकारी र सुदृढ बनाउनुपर्ने धारणा राखे ।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका प्रमुख एवम् कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले प्रयोगशाला सञ्चालनमा आएको जानकारी दिए ।

यसैबिच, मन्त्री यादवले काठमाडौँको कीर्तिपुरको सुन्दरीघाटस्थित ‘इलेक्ट्रोमेकानिकल’ शाखामा बाढीले क्षति पुर्‍याएका महत्त्वपूर्ण उपकरणको मर्मतको प्रगति अवलोकन गरेका छन् । उनले बाढीले क्षति पुर्‍याएका क्षतिग्रस्त अत्यावश्यक उपकरण तत्काल मर्मतसम्भार गर्न निर्देशन दिए ।

त्यस अवसरमा उनले सुन्दरीघाटस्थित पानी प्रशोधन केन्द्र र आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी)को गोदामको समेत अवलोकन गरेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्