Trending
भाजपाको निमन्त्रणामा रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाने निश्चित     |     रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाने     |     लफडाबिच प्रतिनिधिसभा नियमावली समितिको प्रतिवेदन पारित भएको घोषणा     |     सोमबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना     |     संगीत र सद्भावको संगम, मनमाया पंगेनीको नयाँ गीत विमोचित     |     कुन आयोजनामा कति बजेट विनियोजन ?     |     सगरमाथा आधार शिविरमा ‘अब्जर्वेटरी’ केन्द्र स्थापना गर्ने सरकारको योजना     |     काठमाडौँ–तराई–मधेस द्रूतमार्ग : १७ अर्ब  ६४ करोड विनियोजन     |     तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको फाइनलमा १२ खेलाडी प्रवेश     |     चुरोटमा १० प्रतिशत कर वृद्धि     |    
कला र मनोरन्जन

संगीत र सद्भावको संगम, मनमाया पंगेनीको नयाँ गीत विमोचित

१७ जेष्ठ २०८३, आईतवार २१:०४

काठमाडौं। संगीतमार्फत विश्व शान्तिको सन्देश फैलाउने उद्देश्यसहित ‘विश्व शान्तिका लागि सङ्गीत महाअभियान’ सुरु गरिएको छ।

एभरेस्ट ग्यालरीको संयोजन तथा नेपाल टेलिकमको विशेष सहयोग र सहकार्यमा आइतबार काठमाडौंमा आयोजित समारोहमा हुलाक सेवा विभागकी महानिर्देशक तथा सर्जक मनमाया पंगेनी भट्टराईको नयाँ गीत ‘लैजाचरी–शान्तिको धुन’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

गीतमा मनमाया पंगेनी र कमल सौरागको स्वर रहेको छ भने शब्द तथा संगीत मनमाया पंगेनीकै रहेको छ। गीतको संगीत संयोजन कमल सौरागले गरेका हुन् भने राजकुमार बगरले मिक्सिङ तथा मास्टरिङ गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री तथा साहित्यकार एसपी कोइरालाले निजामती सेवामा कार्यरत व्यक्तिहरूलाई प्रायः ‘आत्मा नभएका’ मानिसका रूपमा हेर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै त्यही सेवाभित्रबाट थुप्रै साहित्यकार, गीतकार र कविहरूले आफ्नो सिर्जनात्मक क्षमता प्रमाणित गरिरहेको बताए। उनले गीतकी सर्जक मनमाया पंगेनी भट्टराई पनि त्यही परम्पराको एक सशक्त उदाहरण भएको बताए।

“मैले उहाँका गीत पहिले सर्जक को हुन् भन्ने थाहा नपाई सुनेको थिएँ, गीत अत्यन्त मन छुने लागेका थिए,” उनले भने, “पछि खोजेर हेर्दा मात्रै मनमाया पंगेनीको सिर्जना रहेछ भन्ने थाहा पाएँ।”

उनले नेपाल टेलिकमले संगीत क्षेत्रमा सहकार्य गरेकोमा खुशी व्यक्त गर्दै साहित्य र संगीतमा सरकारी सहभागिता न्यून रहेको अवस्थामा यस्तो सहकार्य सकारात्मक कदम भएको बताए। यस्ता अभियानमा सार्वजनिक संस्थाहरूले आफ्नो सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत लगानी गर्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थले गीतलाई उत्कृष्ट सिर्जना भन्दै प्रशंसा गरे। उनले आफू पनि गीत लेखनमार्फत सृजनात्मक क्षेत्रमा जोडिने प्रयासमा रहेको बताए।

नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक रिना डंगोलले यति अर्थपूर्ण सिर्जनामा सहकार्य गर्न पाएकोमा गर्व लागेको बताइन्। विश्व शान्तिको सन्देश फैलाउने अभियानमा नेपाल टेलिकम सहभागी हुन पाएको उल्लेख गर्दै उनले गीतको भिडियोमार्फत नेपाल टेलिकम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संगीतप्रेमीसँग जोडिएकोमा खुसी व्यक्त गरिन्।

गीतकी सर्जक मनमाया पंगेनी भट्टराईले आफ्नो सिर्जनात्मक यात्रामा साथ र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिन्। समाज, देश र मानवीयतालाई केन्द्रमा राखेर संगीतमार्फत सकारात्मक सन्देश प्रवाह गर्ने प्रयास गर्दै आएको बताउँदै उनले शान्ति, सहअस्तित्व र मानवताको पक्षमा आफ्नो सिर्जना समर्पित रहेको धारणा राखिन्।

हुलाक सेवा विभागकी महानिर्देशक पंगेनी नेपाली संगीत क्षेत्रमा सामाजिक भावना, सांस्कृतिक मूल्य र चेतनालाई जोड्ने सर्जकका रूपमा परिचित छिन्।

उनका यसअघि “सप्तरंगी फूल हौ तिमी”, “नारी शक्ति” र “स्वर्ग जस्तो यो धर्तीलाई” लगायतका गीत सार्वजनिक छन्। निजामती सेवामा उत्कृष्ट योगदान पुर्‍याएबापत एक लाख रुपैयाँ राशिसहितको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गरिसकेकी पंगेनी प्रशासनिक नेतृत्वसँगै सिर्जनात्मक क्षेत्रमा पनि सक्रिय रहँदै आएकी छन्।

कार्यक्रम संयोजक तथा एभरेस्ट ग्यालरीका संस्थापक अध्यक्ष सनम कठायतले संगीतमार्फत संसारलाई जोड्ने अभियानमा आफूहरू निरन्तर सक्रिय रहेको बताए। उनले दुई वर्षअघि ‘दृश्यमा नेपाल’ अभियान सुरु गरिएको स्मरण गर्दै देशका अनुपम प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचानलाई संगीतसँग जोडेर प्रस्तुत गरिएको बताए।

“हामीले दुई वर्षअघि नेपालकै सुन्दर क्षेत्र खप्तडबाट ‘दृश्यमा नेपाल’ अभियान सुरु गरेका थियौं। संगीतभित्र देशका अनुपम तर पर्याप्त रूपमा समेटिन नसकेका प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदालाई प्रस्तुत गर्ने उद्देश्य थियो,” उनले भने, “हामीले पूर्वदेखि पश्चिमसम्मका हिमाल, पहाड र तराईका दृश्यहरू विभिन्न सर्जकका गीतमार्फत दर्शकसामु पुर्‍यायौं। अहिले त्यसैको निरन्तरतास्वरूप विश्व शान्तिका लागि सङ्गीत महाअभियान सुरु गरेका हौं।”

एभरेस्ट ग्यालरीको अवधारणामा निर्माण गरिएको ‘लैजाचरी–शान्तिको धुन’ भिडियोमा नेपाल सरकार तथा सार्वजनिक सेवाका उच्च पदस्थ र सेवा निवृत्त व्यक्तित्वहरूको सहभागिता रहेको छ।

भिडियोमा राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थ, लगानी बोर्डका सहसचिव हेमराज तामाङ, नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक रिना डंगोल, प्रबन्धक डा. शालिग्राम पराजुली, नेपाल आयल निगमकी उपनिर्देशक इन्दु शर्मा, रेडियो नेपालका पूर्व प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपाने, हुलाक सेवा विभागकी निर्देशक सपना कुमारी भट्टराई, पूर्व एआईजी टेक तामाङ, पूर्व एआईजी माधवप्रसाद नेपाल, वरिष्ठ गीतकार–संगीतकार राजकुमार बगर तथा शिव भट्टराईलगायतको उपस्थिति रहेको छ।

भिडियोमा कलाकार सनम कठायत, अस्मिता खनाल तथा बालकलाकार अनुश्री भट्टराई र श्रीनिधि कठायतले अभिनय गरेका छन्। कार्यक्रममा बाल कलाकार श्रीनिधि कठायतले बालगीत गाएर माहोललाई संगीतमय बनाएकी थिइन्।

कार्यक्रमको अध्यक्षता पूर्व डीआईजी तथा साहित्यकार महेशसिंह कठायतले गरेका थिए। समारोहमा गीत तथा भिडियो निर्माणसँग आबद्ध कलाकार, प्राविधिक तथा सहयोगीहरूलाई कदरपत्र प्रदान गरिएको थियो। एभरेस्ट ग्यालरीका निर्देशक तथा गीतकार डिबी खड्काले अनुसार आफूहरु सधैं ‘सार्थक-संगीत’ अभियानमा रहेको बताए।

‘‘लैजाचरी–शान्तिको धुन’ केवल एउटा गीत वा भिडियो मात्र नभई संगीतमार्फत विश्व शान्ति, मानवता, सहअस्तित्व र सकारात्मक चेतनाको सन्देश फैलाउने दीर्घकालीन अभियानको प्रारम्भ हो,’ उनले कार्यक्रम सञ्चालनका क्रममा भने।

प्रतिक्रिया दिनुहोस्