Trending
भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |     ‘ओएसआर डिजिटल’ले महँगो मुल्यमा किन्यो ‘म मदनकृष्ण’को डिजिटल राइट     |     संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     इंग्ल्यान्डमाथि रोमाञ्चक पुनरागमन जित निकाल्दै अर्जेन्टिना विश्वकपको फाइनलमा     |     सम्पत्ति छानबिन नगर्न अन्तरिम आदेश     |     पेट्रोलियम पदार्थको मूल्य यथावत्     |     कोशी सरकारबाट मन्त्री फिर्ता बोलाउने कांग्रेसको तयारी     |     प्रतिष्ठित डाना कपमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ पुनः मनोनित     |     नक्कली शरणार्थी प्रकरण: को को दोषी ठहर भए, कसलाई कति सजाय ?     |    
समाचार

विश्व दूध दिवसमा विद्यालयका विद्यार्थीलाई एक गिलास दूध वितरण

१८ जेष्ठ २०८३, सोमबार २२:००

ललितपुर । विश्व दूध दिवस २०८३ को अवसरमा “दुग्ध क्षेत्रको दिगो विकास : पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार” भन्ने मूल नारासहित ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा विद्यालय तहका विद्यार्थीलाई एक गिलास दूध वितरण तथा सेवन कार्यक्रम सम्पन्न गरिएको छ।

पशु सेवा कार्यालय ललितपुरको आयोजनामा भएको कार्यक्रममा कार्यालय प्रमुख सुजा वाग्लेको अध्यक्षता रहेको थियो भने कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा कोन्ज्योसोम गाउँपालिका–५ का वडा अध्यक्ष विजय स्याङताङ विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कृष्णमान लामाले दुग्ध क्षेत्र ग्रामीण अर्थतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै दूध उत्पादन, प्रशोधन र उपभोगलाई प्रोत्साहन गर्न स्थानीय तहले आवश्यक सहयोग गरिरहेको बताए। उनले बालबालिकाको पोषण सुधारका लागि विद्यालयस्तरमै दूध सेवन संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा बोल्दै दुग्ध विकास सहकारी संस्था लिमिटेडका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटाले दूध केवल पोषणको स्रोत मात्र नभई किसानको आयआर्जन र राष्ट्रिय अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको क्षेत्र भएको बताए।

उनले दुग्धजन्य उत्पादनको उपभोग वृद्धि, गुणस्तरीय उत्पादन तथा बजार व्यवस्थापनमार्फत दुग्ध क्षेत्रलाई थप सुदृढ बनाउन सकिने धारणा राखे। साथै उनले बालबालिकालाई नियमित दूध सेवन गराउने बानीले स्वस्थ र सक्षम नागरिक निर्माणमा योगदान पुग्ने बताए।

कार्यक्रमअन्तर्गत विद्यालय तहका विद्यार्थीलाई एक गिलास दूध वितरण गरी सामूहिक रूपमा दूध सेवन गराइएको थियो। सहभागीहरूले विश्व दूध दिवसले दुग्ध उत्पादन, पोषण सुरक्षा र किसानको आर्थिक समृद्धिबारे जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्