Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |    
समाचार

बेलकोटगढीमा सामूहिक जमरा राखियो

१८ आश्विन २०८१, शुक्रबार १५:४१

१८ असोज, काठमाडौँ। दसैँपर्वको अवसरमा घटस्थापनाको दिन बिहीबार नुवाकोटको बेलकोटगढीमा दुईसय ४५ परिवारले सामूहिक जमरा राखेका छन् ।

बेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना भगवती मन्दिरमा वडादसैँको लागि स्थानीय ब्रामण, क्षेत्री, आदिवासी–जनजाती, दलित समुदायले एकैसाथ एकै स्थानमा सामूहिक जमरा राखेको हो ।

तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेदेखि बेलकोटगढीस्थित निरञ्जना मन्दिरमा सामूहिक जमरा राखिँदै आएकोमा यो वर्ष पनि विभिन्न जाती र समुदायले सामूहिक जमरा राख्ने धार्मिक परम्परालाई निरन्तरता दिएको मन्दिरका पूजारी भोलाराज पौडेलले जानकारी दिए । उनको अनुसार वितगमा जस्तै यो वर्ष पनि ब्रामण, क्षेत्री, आदिवासी–जनजाती र दलित जातीका विभिन्न २२ थरका दुईसय पैतालिस परिवारले एकै स्थानमा जमरा राखेका छन् ।

“स्थानीय क्षेत्रमा बसोबास गर्ने सबै जातीका परिवारले घटस्थापनाको शुभ साइतमा एकै स्थानमा जमरा राखेका छौँ ।” पुजारी पौडेलले भने “विजया दशमीको दिनसम्म बिहान बेलुकाको नियमित पूजाआरधना र जल चढाउने कार्य पुजारीको अगुवाइमा आलोपालो गरिन्छ ।”

नुवाकोट नामकरणका नौ कोटमध्येको प्रमुख कोट बेलकोटलाई धार्मिक, सांस्कृतिक एवम् बैद्धिक सनातन परम्पराको लागि महत्वको रुपमा लिइन्छ । यहाँ अवस्थित निरञ्जना भगवती मन्दिर प्रसिद्ध एवम् पौराणिक शक्तिपीठको रुपमा देशभर परिचित रहेको छ ।

बडादसैँ पर्वको अवसरमा काठमाडौँ हनुमानढोकाको बैद्धिकविधि अनुसार नै यहाँको मन्दिरमा गरिने पूजाआरधना र जमरा राख्ने परम्परा एउटै रहेको छ । हनुमानढोकाको भन्दा बेलकोटगढीस्थित निरञ्जना मन्दिरमा राखिने सामूहिक जमराले स्थानीय क्षेत्रमा जातीय छुवाछुत प्रथाविरुद्धको सचेतनामा उल्लेख्य योगदान पुगेको बेलकोटगढी नगरपालिकाको प्रमुख जगतबहादुर गुरुङको भनाइ छ ।

उनका अनुसार मन्दिरमा सामूहिक जमरा राख्न र पूजा सञ्चालनका लागि गुठीको व्यवस्था भए पनि कुतवाली उठ्न छाडेपछि नियमति पूजा सञ्चालन प्रभावित हुन नदिन बेलकोटगढी नगरपालिकाले सहयोग पुर्याउँदै आएको छ ।

“धार्मिक परम्परा धान्न समस्या भइरहेको अवस्थामा सामूहिक जमरा राख्न स्थानीयवासीको सामूहिक प्रयास अनुपम नमूना छ ।” नगरप्रमुख गुरुङले भने– “पछिल्ला वर्षमा बेलकोटगढी नगरपालिकाले वार्षिक नीति तथा  कार्यक्रममा समावेश गरेर आर्थिक सहयोग उपलब्ध गराई पूजा सञ्चालनमा सहज बनाउन कोसिस गर्दै आइरहेको छ ।”

बेलकोटस्थित पाण्डेगाउँ, सुन्दरबजार, बेलकोटगढी, धमले, मिजारगाउँ, मैदानटोल, गैरीगाउँका स्थानीयले दसैँ पर्व विजया दशमीको दिनबाट सुरु हुने नवदुर्गा भवानीको प्रसाद ग्रहण्मा लगाउने जमरा सामूहिक रुपमा निरञ्जना भगवती मन्दिरमा राख्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्