काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस जयशङ्करबीच भारतको राजधानी नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ ।
भेटवार्तामा नेपाल-भारत सम्बन्धका विविध आयामबारे छलफल भएको बताइएको छ । भारतीय विदेशमन्त्री डा. जयशङ्करले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै भेटका क्रममा द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), ऊर्जा सहयोग तथा जनस्तरका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको उल्लेख गरेका छन् ।
परराष्ट्रमन्त्री खनाल भारतीय विदेशमन्त्री जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा जेठ २२ देखि २४ गतेसम्मको औपचारिक भ्रमणका लागि शुक्रबार नयाँ दिल्ली पुगेका थिए ।
भ्रमणका क्रममा उनले भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेसँग पनि भेटवार्ता गरेका थिए ।
त्यसैगरी, मन्त्री खनालले नयाँ दिल्लीस्थित इण्डिया फाउन्डेसनद्वारा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै नेपाल–भारत सम्बन्ध, क्षेत्रीय सहकार्य तथा साझा विकासका विषयमा धारणा राखेका थिए ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप मजबुत बनाउने विषयमा उच्चस्तरीय संवाद भइरहेको छ । मन्त्री खनाल भ्रमण सम्पन्न गरी जेठ २४ गते स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।
नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक, आर्थिक तथा जनस्तरका सम्बन्धलाई अझ सुदृढ बनाउने दिशामा यस भ्रमणलाई महत्वपूर्ण मानिएको छ ।